काठमाडौं,३० साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३०, शुक्रबार) देशका २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव हाल सतर्कता तहभन्दा तल छ, तर पानीको स्तर बढ्ने सम्भावना छ।
यसका साथै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम-पश्चिम, कालिकोट, बाजुरा, बझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला र आसपासका जिल्लामा बहने ससाना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने अनुमान गरिएको छ।
महाशाखाले यी २२ जिल्लालाई पहेंलो सतर्कता (Yellow Alert) स्तरमा राखी स्थानीय बासिन्दालाई बाढी सम्भावित क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।



