6.1 C
Kathmandu

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएपछि महावीर पुनको प्रतिक्रिया : ‘मन्त्री नभन्नु, कबाडी वैज्ञानिक भन्नु’

-

काठमाडौं,६ असोज । वैज्ञानिक महावीर पुनलाई अन्तरिम सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस गरेपछि उनले पहिलोपटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। सोमबार बिहान पुनले बधाई दिन फोन नगर्न, खादा–माला लिएर घर नआउन र आफूलाई मन्त्री नभन्न आग्रह गरेका हुन्।

‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा–माला लिएर नआउनुहोला,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया भए मेरो ह्वाट्सएपमा पठाउनुहोला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री थपका लागि नाम सिफारिस गरेकी थिइन्। राष्ट्रपतिसमक्ष पठाइएको सूचीअनुसार आज शपथ ग्रहण गर्न लागेका मन्त्रीहरूमा पुनसहित— अनिलकुमार सिन्हा (उद्योग), संगीता कौशल मिश्र (स्वास्थ्य), मदन परियार (कृषि) र जगदीश खरेल (सञ्चार) रहेका छन्।

यसअघि नै रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र यातायात) र ओमप्रकाश अर्याल (गृह तथा कानुन) मन्त्री बनिसकेका छन्। यससँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार पूर्णतर्फ

उन्मुख भएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। लगत्तै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन मिति तोकिएको छ।

कार्की नेतृत्वको अन्तरिम सरकारको प्रमुख जिम्मेवारी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु भए पनि, त्यस अवधिसम्म शिक्षा, विज्ञान, स्वास्थ्य, ऊर्जा जस्ता क्षेत्रका मन्त्रीहरूलाई ठोस काम गरेर देखाउने चुनौती रहेको छ। महावीर पुनको पहिलो प्रतिक्रिया पनि त्यही अपेक्षासँग जोडिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य