काठमाडौं,३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टी नेतृत्वदेखि सिद्धान्त, नीति र कार्यक्रमसम्म सबै आयाममा पुनरावलोकन र पुनर्संरचना गर्न माग गरेकी छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै उनले रास्वपालाई अर्थपूर्ण रुपान्तरण गर्न तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिइन्। कार्कीले भनिन्, “देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यक हो। यसका लागि हाम्रो पार्टीको पनि रुपान्तरण आवश्यक हुन्छ। नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम सबै आयामको पुनरावलोकन, पुन:मूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्ति निर्माण गर्न अहिले नै उपयुक्त समय हो।”
उनले पछिल्लो समय रास्वपा प्रति प्रश्नहरू उठ्न थालेको स्वीकार गर्दै त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने धारणा राखिन्। “वर्तमान परिस्थितिमा हाम्रो भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित पार्टीलाई मुख्य शक्तिको रुपमा विकास गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
कार्कीले विशेषगरी जेन–जेड आन्दोलनले उठाएको आमूल परिवर्तनको मागलाई सबै राजनीतिक दलहरूले आत्मसात गर्नुपर्ने बताइन्। पुरानो अवस्था तोडेर सुधारात्मक कदम चाल्नुपर्ने उनको जोड छ।
यसअघि रास्वपाकी नेतृ सुमना श्रैष्ठले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन्।

