चराहरू फर्कन सक्छन्

लेखक: डा. विष्णु केसी
ठेगाना: रामेछाप सुनापति ३
शैली: कविता
प्रकाशन मिति: २०८२ असोज ४ शनिवार
आकाश
अब आकाश जस्तो छैन
न त ताराहरू तारा जस्ता
केवल धुलोले भरिएको पर्दामात्र
जसमा घाम पनि
पुरानो चलचित्रको रिलजस्तो
जसको चालमा
जीवनको गति हराएको छ।
जङ्गलको नक्सा
सहरका भित्तामा पोस्टर बनेको छ त्यहाँको हरियाली
अब स्क्रिनसेभरमा मात्र देख्न सकिन्छ पहाड
एउटा मूक साक्षी जस्तै
अडिएको छ
तर भित्रभित्रै
अज्ञात कम्पनले चर्को आवाज गर्छ जसलाई सुन्न
कोही फुर्सदिलो छैन ।
सडकहरू
अलिकति धुलो
अलिकति भीड
अलिकति मानिस
जसले आँखा जताततै घुमाउँछन्
तर एकअर्कालाई कहिल्यै भेट्दैनन्
बालबालिकाको हाँसो
जो फिल्टरभित्र थुनिएको छ ।
सपना
बारकोडभित्र
अड्किएको छ
कसैले स्क्यान गरे मात्रै
देख्न सक्ने
वा क्युआर कोडमा
स्क्यान गरेर
कसैलाई आकाश मार्गमा
सेन्ड गर्न सकिने भएको छ ।
चराहरू
सायद अहिले
स्मृतिको आवाज मात्रै हुन्
चुपचाप भित्ताभित्र
प्रतिध्वनिझैँ भासिएका छन्
तर कतै
अत्यन्त टाढा
एउटा हल्का हावा बगिरहेकै छ
जसले सङ्केत गर्छ-
कि जब यहाँ
आकाश फेरि आकाश बन्छ
तब चराहरू
फर्कन सक्छन् !


