शुभकामना के दिउँ र ?

लेखक: गणेशकुमार मिश्र
ठेगाना: कपन, काठमाडौँ
शैली: कविता
प्रकाशन मिति: २०८२ असोज ४ शनिवार
भौतिक प्रतिस्पर्धाको रापमा ,
हिमालहरु हिउँ नपाएर
काला पत्थर बोकेर ठडिएको बेला
अदुरदर्शिताको सिमानाभित्र ,
नदीहरु अन्याय सहदै,
मानव अत्याचारले धमिलिएको बेला
विश्वास र समाधानको मृत्यु अघिको यो समयमा
म ,
शुभकामना के दिउँ र ?
*
स्वार्थको रापिलो तापमा ,
जलेका इतिहास
ढलेका स्वाभिमान
र
हराएको मेरो पहिचानसहित
देशको धडाकन रोकिएको बेला
निरुपाय यो समयमा
म ,
शुभकामना के दिउँ र ?
*
इतिहासको हत्याभित्र ,
न्याय खोज्नु परेको बेला ,
तरुणको स्पन्दन छाम्नु परेको यो क्षणमा
अनि
खरानीभित्र लुकेको मेरो चिनारी
अव्यक्त पीडामा रोएको देशसामु
विवेकको जरा छिनालिएको यो समयमा
म ,
शुभकामना के दिउँ र ??
प्रतिक्रिया दिनुहोस्


