काठमाडौं,६ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले गरेको मूल्यांकनप्रति कडा आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणाली र शिक्षकको अवस्थाबारे तीखा टिप्पणी गरे।
कोइरालाले शिक्षकको सम्मान र पारिश्रमिकको प्रश्नलाई उठाउँदै भने, “कार्यालय सहायकभन्दा पनि शिक्षकको तलब कम छ यो देशमा। यस्तो पनि हुन्छ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने?”
उनका अनुसार क्षमता नेपालीमा प्रशस्त भए पनि त्यसलाई प्रयोग र उजागर गर्न राज्य असफल बन्दै गएको छ। “हामी नेपालीमा क्षमता छैन भन्ने होइन, क्षमता छ। तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौं,” उनले जोड दिए।
शिक्षक तलब संरचनाप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गरे। उनले चेतावनी स्वरमा भने, “अहिले शिक्षकसम्बन्धी विधेयक बन्दैछ। तर सरकारले सामुदायिक र सरकारी विद्यालयहरूलाई गुणस्तरीय बनाउने प्राथमिकता दिनुपर्छ।”
उनले स्पष्ट पारे कि शिक्षकको न्यून तलब र असन्तुष्ट अवस्थाले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पारिरहेको छ। “शिक्षा नै राष्ट्रको समृद्धिको आधार हो। त्यसैले शिक्षा क्षेत्रलाई बेवास्ता गर्नु राष्ट्रलाई नै कमजोर बनाउनु हो,” उनले जोड दिए।
कोइरालाले आर्थिक अवस्था कमजोर भए पनि शिक्षा क्षेत्रलाई महत्व दिनुपर्ने बताए। “देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा हो भन्ने बुझ्न जरुरी छ,” उनको भनाइ थियो।


