काठमाडौँ,२ असोज । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बाहिरिएका छन्। २३–२४ भदौमा भएको जेनजी आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए। २४ गते दिउँसो सेनाको हेलिकप्टरमार्फत ललितपुरको लेलेस्थित सैनिक ब्यारेक पुगेका ओली बिहीबार दिउसो आफ्नै डेरा फर्किएका छन्।
अघिल्लो समयमा निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका थिए। अहिले उनलाई अस्थायी रूपमा भक्तपुरस्थित गुण्डुमा बस्ने व्यवस्था गरिएको छ। एमाले नेता महेश बर्तौलाले भने, “उहाँ सैनिक ब्यारेकबाट बाहिर आउनु भयो। केही दिन उहाँ अब गुण्डु बस्नुहुन्छ।”
ओली निवासमा अहिले एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ। २३ भदौमा जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध काठमाडौँसहित देशभर प्रदर्शन गरेका थिए। उक्त दिनको प्रदर्शन हिंसात्मक बनेको थियो।
आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी परिचालन गर्ने रणनीति अपनाएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमार्फत भाग्न बाध्य भएका थिए। उनको हेलिकप्टर प्रस्थानसँगै बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन जलाइएका थिए।
एमालेले भोलि संविधान दिवसको अवसरमा जेनजी आन्दोलनकारीले ध्वस्त बनाएको पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। यस कार्यक्रममा ओलीलाई सार्वजनिक गरिने एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन्। तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओली तत्काल कुनै औपचारिक कार्यक्रममा सहभागी हुने योजना छैन।


