6.1 C
Kathmandu

पृथ्वी राजमार्ग १५ घण्टादेखि अवरुद्ध, यात्रु हवाई सेवातर्फ धकेलिँदा टिकट महँगो

Categories:

-

काठमाडौँ,७ असोज । काठमाडौं आउ–जाउ गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग गएको १५ घण्टादेखि अवरुद्ध हुँदा यात्रुले ठूलो सास्ती व्यहोर्नु परेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति सवा १० बजेतिर सुख्खा पहिरो खसेपछि मलेखु–मुग्लिन सडक खण्ड पूर्ण रूपमा बन्द भएको हो।

सुरुमा खसेको सानो पहिरो पन्छाउने क्रममा फेरि राति साढे ११ बजेतिर ठूलो पहिरो खस्यो। त्यसपछि मंगलबार बिहान ५ बजेतिर अर्को ठूलो पहिरो झरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए। उनका अनुसार तीनवटा मेसिन प्रयोग गरी बिहान ६ बजेदेखि पहिरो हटाउने प्रयास भइरहेको छ। “थप पहिरो नखसे दिउँसो ३ बजेसम्ममा एकतर्फी सवारी सञ्चालन हुन सक्छ,” हमालले बताए। तर, अझै ठूलो मात्रामा पहिरो जमिनमै रहेकोले निश्चित भन्न सकिने अवस्था छैन।

चितवनको सीमामा पर्ने यो स्थान नजिकैको तुइन खोलामा गत शुक्रबार र शनिबार पनि पहिरो खसेर दुई दिनसम्म सवारी सञ्चालन बन्द भएको थियो। लगातार पहिरो खस्दा यात्रामा जोखिम बढेको भन्दै प्रहरीले यात्रुलाई सुरक्षित ढंगले यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

यता सडक बन्द र अनिश्चितताका कारण धेरै यात्रु हवाई सेवातर्फ धकेलिँदा आन्तरिक उडान भाडा महँगिएको छ। दसैं सुरु हुन सात दिन मात्र बाँकी रहँदा अधिकांश उडानका सस्ता टिकट सकिएका छन्। काठमाडौं–धनगढी रुटमा सामान्यतया १२ हजार पर्ने टिकट १६ हजार रुपैयाँ पुगेको छ भने काठमाडौं–नेपालगन्ज ६ हजार ६ सयबाट १३ हजार, काठमाडौं–विराटनगर ५ हजार ८ सयबाट ९ हजार ७ सय र काठमाडौं–भद्रपुर ६ हजार ३ सयबाट १२ हजार रुपैयाँ नाघेको छ।

यती एयरलाइन्सले करिब ७५ प्रतिशत टिकट बिक्री भइसकेको र यात्रुको चापअनुसार अतिरिक्त उडान थप्ने तयारी गरेको जनाएको छ। श्री एयरलाइन्स र बुद्ध एयरका अनुसार पनि धेरै गन्तव्यका टिकट सकिएका छन्।

सडक अवरोध र हवाई टिकट महँगिँदा दसैंमा घर फर्किने तयारी गरेका हजारौँ यात्रु ‘जानु कि नजानु’ भन्ने दोधारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य