लागु पदार्थ दुर्व्यसन र रोकथाम

लेखक: लक्ष्मी गिरी
ठेगाना: बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२
विद्यालय: त्रि-ज्योति माध्यमिक विद्यालय,कक्षा १०
शैली: निवन्ध
मानव शरीरलाई मत्ताउने तथा लट्ठ पार्ने जुनसुकै नशायुक्त पदार्थलाई लागु पदार्थ भनिन्छ र मानिसमा लागेको नराम्रो बानी नै दुर्व्यसन हो । मानिसले जीवनको वास्तविक आनन्दलाई राम्रोसँग बुझ्न नसक्दा यस्ता दुर्व्यसनमा फस्ने गर्छन्। लागु पदार्थको इतिहास मानव सभ्यता जतिकै पुरानो छ । पुराना कथा पुराणहरूमा पनि देवता तथा राक्षसहरूले लागु पदार्थको प्रयोग गरेको कुरा सुन्न र पढ्न पाइन्छ। धार्मिक ग्रन्थमा उल्लेख भएका कतिपय कथाहरूले नकारात्मक प्रभाव पारेको छ कि भन्ने कुराको हामीले विचार गर्नुपर्छ ।
मस्तिष्कमा बिगार गर्ने अथवा असन्तुलित गराउने जुनसुकै वस्तु लागु पदार्थ हो। सुर्तीजन्य पदार्थ केवल नशाकै लागि प्रयोग हुने औषधी, सुई भित्रबाट प्रयोग गरिने अनेकौँ किसिमको लागु पदार्थ, गाँजा, चरेस, भाङ ,धतुरो ,अफिम, ब्राउन सुगर, हेरोइन जाँड रक्सी आदि लागूपदार्थ हुन । यसको प्रयोग तथा सेवन गर्नाले कहिले मानिस अर्धचेतन त कहिले अचेतन अवस्थामा पुग्दछ । यसको सेवन युवा, वृद्ध, बालबालिकादेखि महिलासम्मले पनि गर्न थालेका छन् । विदेशी समाजबाट नेपालसम्म आइपुगेको विभेद विकृतिमध्ये लागु पदार्थको दुर्व्यसन पनि एक हो । यसको प्रयोग विशेष गरी सहरी क्षेत्रमा भएको पाइन्छ । देश विकास गर्न सक्ने युवा शक्ति कुलतमा फस्नु भनेको देशको दुर्भाग्य हो। यसको कुलतमा कोही जानीजानी फस्छन् भने कोही अज्ञानवश कुलतमा फसेको छन् । अस्पतालबाट निस्किँदै गरेका डाक्टरको हातबाट चुरोटको धुवाँ उडिरहेको देख्दा विरक्त लागेर आउनु स्वाभाविकै हो। नजानेर भन्दा जानेर फसेकाहरूले नै देशको भविष्य अन्धकार बनाएका छन्। बजारमा यस्तो लागु पदार्थको खुल्लम-खुल्ला व्यापारले गर्दा मानिसहरू कुलतमा फसिरहेका छन्। कोही एक पटक खाई हेरौँ न त के हुँदो रहेछ भनेर बानी पार्ने त कोही समस्याको समाधानको कुनै पनि बाटो नदेखेर फस्ने गरेको देखिन्छ ।
यसले शरीरमा नकारात्मक असर गर्नुका साथ समाजमा रहेको मान प्रतिष्ठालाई पनि माटोमा मिलाउँछ। अकालमै ज्यान गुमाउनुपर्ने हुन्छ। यसको प्रयोगले गर्दा कति बालबालिकाहरूले सानै उमेरमा ज्यान गुमाएका छन् । समाजमा यसको सेवन गर्नेले भन्दा पनि यसको बिक्री वितरण गर्नेहरूले विकृति फैलाएका छन्। यो एउटा नशा हो। यसको बानी परिसकेपछि मानिस यो बिना बाँच्न नसक्ने अवस्थामा पुगेको हामी सबैले देखेका छौँ । बानी परेपछि छोड्न गाह्रो हुने अनि यस्ता पदार्थहरू महँगो हुने भएकाले मानिसहरू आत्महत्या हत्या, हिंसा, चोरी, डकैती जस्ता कार्यतिर लाग्छन्
यो नेपालको मात्र नभई विश्वकै समस्या हो । पश्चिमी मुलुकहरूबाट भित्रिएको यो कुलतको रोकथाम गर्ने उपायहरू पनि धेरै छन् । यस्ता कुलतको अन्त्यको लागि नेपालमा धेरै संघसंस्था पुनर्स्थापना केन्द्रहरू खुलेका छन् यो संस्था तथा केन्द्रहरूले कुलतमा फसेकाहरूलाई चेतनामूलक कार्यमा सहभागी गराएर कुलतबाट टाढा राख्न सक्छन् र कतिपय मानिसहरू मायाको अभावमा पनि कुलतमा फसेको हुन्छन् । त्यस्ता बालबालिकाहरूलाई उचित माया गर्ने वातावरण निर्माण गर्ने गर्नुपर्छ। स्वयंले पनि असल साथीको सङ्गत गर्ने हो भने कुलतबाटै टाढा रहन सकिन्छ। यसको उपाय र असरबारे विद्यालय तथा क्याम्पसमा पढाइ हुने पाठ्यपुस्तकमा राख्ने सरकारले कडा नीति नियम बनाएर, बिक्री वितरण गर्ने, ओसारपसार गर्ने व्यक्तिलाई कडा भन्दा कडा सजाय दिने कार्य गर्न सक्छ ।
यसको रोकथामको लागि व्यक्ति एक्लैले केही गर्न सक्दैन यस्तो अवस्थामा परिवार समाज तथा राज्यका तर्फबाट विशेष व्यवस्था गर्नु जरुरी छ . लागू पदार्थबाट हुने हुनसक्ने नकारात्मक प्रभावबारे जनचेतना फैलाउने कार्य गर्ने हो भने यसको रोकथाम सजिलैसँग हुन्छ।

