सुजन गिरीको कविता :आमा म तिम्रो छोरा हुन पाउँ

-

आमा म तिम्रो छोरा हुन पाउँ

लेखक: सुजन गिरी

ठेगाना: चाबहिल ७ काठमाडौँ

विद्यालय: पुष्पलाल मेमोरियल कलेज, बि. एड. द्वितीय वर्ष

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र १२ बिहिवार

मलाई रहर छैन चन्द्रमा छुन पाऊँ,
रहर छ मेरी आमालाई चन्द्रमा मुस्कुराए जस्तै मुस्कुराएको हेर्न पाउँ,
चरी जस्तै स्वतन्त्र भएर मेरी आमा बाँचेको हेर्न पाउँ ,
अनि फूल जस्तै सुवास छर्दै मेरी आमा हाँसेको हेर्न पाउँ ।।

कति जाती हुन्थ्यो होला है म मेरी आमाको खाली खुट्टामा चप्पल हुन पाए ,
उनको पाउमा बिझ्ने ती तिखा काँडाहरु बरु मलाई विझ्ने भए ,
कति जाती हुन्थ्यो होला म मेरी आमालाई थकाइ लाग्दा बिसाउने चौतारी हुन पाए ,
उनलाई प्यास लाग्दा पिउने पानी हुन पाए ,
उनको ती आँखाको नानी हुन पाए ।।

मलाई रहर छैन म तारा हुन पाऊँ,
रहर छ बुढी मेरी आमाको सहारा हुन पाउँ,
उनको खुट्टा लुलो हुँदा टेक्ने लठ्ठी हुन पाऊँ,
उजेलिमा उनको छायाँ अनि अँधेरीमा टुकी हुन पाउँ ।।

म रुनु हुँदैन, म रोएँ भने मेरी आमा रुन्छिन्,
आमा रोइन् भने फेरी म रुन्छु,
म टुट्नु हुँदैन, म टुटेँ भने मेरी आमाको आशाहरू टुट्छन्, भावना टुट्छन , उनका सपना टुट्छन्
म टुटेँ भने मेरो घर थामेर राखेको निदाल टुट्छ,
मलाई हेरेर बाँचेकी मेरी बुढी आमाको बाँच्ने आधार टुट्छ ।।

मलाई रहर छैन म संसारको धनी हुन पाउँ,
रहर छ मेरी आमा दुखी हुँदा उनको आखाँको आँसु पुछ्न पाउँ
मेरी आमाको दुखहरु खुसीले धुन पाउँ ,
रहर यत्ति छ मन भक्कानिदा मेरी आमाको छातीमा टाँसिएर रून पाऊँ।।

कति जाती हुन्थ्यो होला है मेरी आमालाई जाडो हुँदा म न्यानो घाम हुन पाए,
उनलाई गर्मी हुँदा म सित्तल छहारी हुन पाए ,
सुखको खडेरी लागेको मेरी आमाको मुहारमा खुसीकाे वर्षात् हुन पाए ,
शिशिरमा पातहरू झरेका आमाका आशाका वसन्तको नयाँ पालुवा हुन पाए ।।

मलाई रहर छैन म स्वर्ग जान पाउँ ,
रहर छ यदि अर्को जुनी सम्भव भए म तिम्रै भएर जन्मन पाउँ ,
निन्द्रा लाग्दा तिम्रो छातीको न्यानो स्पर्श गर्दै निदाउन पाउँ,
तिमीलाई रुँदै कराउँदै भाग्दै सताउन पाउँ,
बाबाले गाली गरेको, दिदीले पिटेको, तिमीलाई बताउन पाउँ,
तिमी हरेक जुनी मेरै आमा बन्नु है आमा
अनि म हरेक जुनी तिम्रै छोरा भएर जन्मन पाउँ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य