बाल अधिकार पाए देश बनाउछौँ

लेखक: पुजा शाही
ठेगाना: बुढानीलकण्ठ–१०, मिलनचोक
विद्यालय: रिलायन्स इन्टेरनेसनल एकेडेमी
शैली: झ्याउरे छन्द ३+२+३+३+३
राम्ररी पढौँ, अगाडी बढौं लिएर अधिकार
आफ्नै छ भेष, आफ्नै छ देश नसहाँै अत्याचार ।
शिक्षाले बढ्छौं अगाडि सधैँ शिखर चुम्नेछौँ
प्रविधि युक्त, अन्याय मुक्त ज्ञानले सजिन्छौँ ।।१।।
छँदैछ हाम्रो यो देश राम्रो सुन्दर विशाल
पाउने जति अधिकार पाए बनाउछौँ नेपाल ।
कोमल औँला चलाइ सुन्दर भविष्य कोर्दछौँ
एकता–साथ हातमा हात मिलाई रमाउछौँ ।। २ ।।
एकदिन अब नेपालको जय, सबैले भन्नेछौँ
कर्णधार हामी यो देश बोक्न सिपालु बन्नेछौँ
मनमा हाम्रो देशकै कुरा देशकै ज्ञान होस्
भएर ठुलो देशमा केही गर्नमा ध्यान होस् ।।३।।
सानोमा मुना सुरक्षा पाए रुख बन्छ विशाल
बाढी र पहिरो रोकेर बस्छ बनेर अटल
हामीले त्यस्तै अधिकार पाई सक्षम भएर
संसारभरि देशको नाम चिनाउँछौँ गएर ।। ४ ।।

