काठमाडौं । फोटोमा देखिएर अनुसार त्यो केटाको एउटा खुट्टा बिछाइएको राडीमा छ। अर्को खुट्टा अगाडि छ। हातमा बेल्चा छ। चिटिक्क परेको लवाई ख्वाई छ। उसले जुता फुकालेको छ। मोजा खुट्टामा मौजुदा छ। गलामा माला छ। झट्ट हेर्दा लाग्छ नेपाली किसानको जीवन उक्सेछ।
नेपाली किसानले न त राडी बिछाएर बेल्चा हान्छन् । न त माला लगाएर । तर दिएको तस्बिरमा बयान गर्दै केहीले जुम्लामा त्यो दिन विष्णु भगवानको अवतार प्रकट भएको जस्तै गरी प्रचार गरे। ती युवा थिए पूर्व युवराज पारसका छोरा अर्थात् ज्ञानेन्द्रका नाति हृदयेन्द्र।
हिजो आज सामाजिक सञ्जालमा जुत्ता नलाएको खाली तर जिन पाइन्ट लगाएर बेल्चा हान्दै गरेको त्यो युवाको बढो जोड तोड साथ चर्चा छ। उसले नेताको छोरा छोरी भन्दा सादा भएर काम ग¥यो भन्दै ठुलो तारिफ गरिएको छ । नेताहरु प्रति बढ्दै गएको अहिलेको असन्तुष्टि बजारमा यो आगो जस्तै फैलिएको छ। राजाको शासन नभोगेका पुस्तालाई त हो यी त भगवान् नै रहेछन् कि जस्तो देखिन्छ।
नेपाली नेताहरूमा पनि पछिल्लो समयमा राजा महाराजा शैली बढेकै देखिन्छ। तर लोकतन्त्रमा त्यसलाई अङ्कुश लगाउने अनेक अस्त्र छन् । तर राजतन्त्रमा त्यो अश्त्रनै हुँदैन । त्यो भनेको विगतमा सबैले भोगेको र अघिल्लो पुस्ताले अघाउँजी गोलीले पेट भरेको धेरै उदाहरण छन् ।
अहिले नागरिक भएका तर कुनै बेलाका ताना शाह राजाको एउटा नाति हेलिकोप्टर चढेर जुम्ला गयो। कार्यक्रम वरिपरि राखेको रातो कार्पेटबाट हिँड्दै सजाएको मञ्चमा पुग्यो र त्यसपछि एउटा कुनै कार्यक्रमको शिलान्यास तर्फ अगाडि बढ्यो। शिलान्यास गर्ने बेलामा जुता फुकाल्यो र जिनको पाइन्ट माथि सुर्केर गनेर चार बेल्चा हान्यो।
अनि यसलाई राजाको छोरा सादा भएको नेताको छोरा भोग विलासी भएको भन्दै टिप्पणी गरियो। नेताको छोरा भोग विलासी भएनन् त भन्न मिल्दैन । लोकतन्त्रमा तिनलाई नाँगेझार पार्नु बाहेक अरु केही उपाय छैन। तिनका उपचार यो लगायत अनेक छन् ।
तर राजतन्त्रमा कसैले राजाका ज्वाइँका भाइका साला सम्मलाई छड्के नजर सम्म हे¥यो भने कमैका आँखा सद्दे हुन्थे । राजा तर्फ औला देखाउने सबै बाटा बन्द हुन्थे। विगतको यो नमिठो भोगाई हो ।
बेलायतमा गएर पढ्ने हैसियत नेपालमा क कसेले पाउँछन् त्यो सबैलाई थाहा छ। कि राजा महाराजाका छोरा कि नेताका छोरा । तर बेलायत पढेर नेपालमा छुट्टी मनाउन आएको एउटा केटोले दुई बेल्चा हान्ने बित्तिकै भगवान् रामकै अवतार भयो भनेर टिप्पणी गर्न कति सुहाउने विषय हो? सधैभरी खेत खनेर जीविका गर्ने भन्दा एक दिन सोखले आएर अर्काले ठिक्क पारिदिएको बेल्चा बजार्ने ठुलो दुखी हुनसक्छ?
जुम्लाको गरिबको एउटा छोरो रामबहादुर आज पनि नेपालमा सरकारले दिएको सुविधा निःशुल्क शिक्षामा पनि किताब किन्न नसकेर कि खाडीमा जान्छ कि हलो जोतेर बस्छ। त्यसको कुनै तारिफ हुँदैन। त्यसले लगाउने च्यातिएको कछाड र टोपीको कुनै चर्चा हुँदैन । उसले दैनिक खेतमा चुहाउने पसिना बारे कसैलाई दया लाग्दैन । किन यो उसको बाध्यता हो। उ सधैँ खाली खुट्टा हुन्छ र सधैँ बेल्चा कोदालो हानी रहेको हुन्छ। त्यसमा कसैको दया र चर्चाका कुरा हुँदैन ।
तर दरबारमा हुर्केको, सुनको चम्चाले भात खाएको, नेपालमा नभएर बेलायतमा पढेको एउटा केटो सोखले नेपाल घुम्न आउँछ। कलेज छुट्टी भएको बेला बिदा मनाउन आउँछ। चिडिया खानामा जनवार हेरेर रमाए जस्तो नेपाली दुखी जीवनको रमिता हेरेर आनन्द लिन आउँछ । अनि हामी त्यसैलाई क्रान्तिकारी त्यागी देख्छौ ।
हाम्रो आफै कति बुद्धिमानी छौ भने बेलायतमा गएर त्यो केटो कसरी पढ्यो होला ? कति खर्च लाग्यो होला ? उसलाई खर्चको स्रोत धान्ने उसका परिवारको मासिक कति आम्दानी होला भन्नेमा हामी वास्ता गर्दैनौ । त्यो जुम्ला जाँदा कुन हेलिकोप्टर चढेर गयो? हेलिकप्टर झरेको ठाउँ देखि कार्यक्रम स्थल सम्म कति मिटर हिँड्यो? हामी त्यसको लेखा जोखा गर्दैनौ । अनि उसले सोखले चार बेल्चा भुईँमा हानेर गरेको फोटो सेसनमा गर्व गर्ने नेपाली समाजका हामी सदस्य हौ ।
जुम्ला पुगेको त्यो केटोले दिनभरि कसैको बारी खनेको भए, खाली खुट्टा हप्तौ दिन सडकमा हिँडेको भए, जिउमा लाउने लुगा नभएर ‘सिउ सिउ’ गर्दै कुक्रुक्क परेर शरीर भरी काँडा उमारेर बाध्यताले समय बिताएको भए अर्को कुरा हुन्थ्यो । तर उसले त नेपाली जनताको दुखको अभिनय गरेको मात्र हा। उसको त्यो बेल्चा हनाई बिलकुल सोखको विषय हो। त्यस कारण सोख र बाध्यताबिचको फरक यही हो।
केहीले त्यो केटोलाई भावी राजाको सपना देखेका छन् । सपना देख्न र कल्पना गर्न सबैलाई छुट छ। लोकतन्त्रको सुन्दर पक्ष भनेको यही – म नेपालमा प्रधानमन्त्री बन्छु , राजा बन्छु भन्न मज्जाले पाउँछ। तर राजाको शासनमा म राजा बन्छु भनेर कसैले भन्यो भने उसको प्राण पखेरु यो धर्तीमा रहँदैनथ्यो । राजको शासनको विरोध गर्दा जेल नेल हतकडी भोगेका धेरै मानिस भेटिन्छन् ।
जुम्लामा हेलिकप्टरबाट पुगेर लाएको जुत्ता फुकाल्दै चार बेल्चा सोखले हान्ने एउटा केटोलाई राजाका रूपमा अगाडि सार्ने हो भने त्यो नेपाली समाज सुहाउँदो कुरा हुँदैन। त्यसैले सधैँ जसले बाध्यताले बेल्चा हानी रहेको हुन्छ, पैसा नभएर जो सधैँ खाली खुट्टा हिडीरहेको हुन्छ त्यो नै वास्तविक नेपालीको राजा वा राष्ट्रपतिको सही प्रतिनिधित्व गर्ने अधिकार राख्छ। घेरा फाटेको टोपी हेरेर चिडिया खाना जस्तो मज्जा लिने सम्भ्रान्त र सामन्ती बर्गते त्यो दाबी गर्न सुहाउँदैन। जुम्लामा त्यो केटोले हानेको बेल्चा र सिंहले म चुनावपछि शाकाहारी बन्छु भनेर भाषण गर्दै राजा बन्न भोट मागेको कथा मिल्दोजुल्दो हुन्छ।


