काठमाडौं, ११ वैशाख ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुक स्थानीय तहहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो। मन्त्रालयका अनुसार नेपालको संवैधानिक व्यवस्था बमोजिम हाल भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू क्रमशः स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनतर्फ पहल गरिएको हो।
जारी सूचनामा सेवा सञ्चालन गर्न इच्छुक स्थानीय तहले आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैंले गर्ने प्रतिबद्धतासहित प्रस्ताव पठाउनुपर्ने उल्लेख छ। प्रस्तावमा सेवा सञ्चालन गर्न इच्छुक रहेको विवरण स्पष्ट रूपमा समेट्नुपर्नेछ।
मन्त्रालयले तोकिएको समयभित्र प्राप्त प्रस्तावका आधारमा सेवा हस्तान्तरण प्रक्रिया अगाडि बढाइने जनाएको छ। यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि बताइएको छ।
संघीयता कार्यान्वयनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र नागरिकमैत्री बनाउन स्थानीय तहलाई सशक्त बनाउने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले इच्छुक स्थानीय तहलाई आफ्नो प्रस्ताव स्क्यान गरी info@molcpa.gov.np
, info@dolma.gov.np
वा jaggaprsasan@gmail.com
मा पठाउन आग्रह गरेको छ।

