काठमाडौँ, १ असोज । दसैं सुरु हुन सातामात्र बाँकी रहँदा आन्तरिक हवाई टिकटको भाउले यात्रुलाई झट्का दिएको छ। वायुसेवा कम्पनीहरूले सस्तो दरका टिकट सकिएको भन्दै भाडा दोब्बर नजिक पुर्याएका छन्।
काठमाडौं–धनगढी रुटमा सामान्यतया १२ हजार रुपैयाँ पर्ने टिकट असोज ११ र १२ गतेका लागि १६ हजार रुपैयाँसम्म पुगेको छ। त्यस्तै, काठमाडौं–नेपालगन्जको भाडा ६ हजार ६ सयबाट १३ हजार, काठमाडौं–विराटनगर ५ हजार ८ सयबाट ९ हजार ७ सय र काठमाडौं–भद्रपुर ६ हजार ३ सयबाट १२ हजार नाघेको छ।
यती एयरलाइन्सले दसैंका लागि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ। कम्पनीले यात्रुको भीडका कारण सम्भव भएसम्म अतिरिक्त उडान थप्ने योजना बनाएको छ। यतीसँग सात वटा एटीआर–७२ जहाज छन् भने सहायक कम्पनी तारा एयरले दूर्गम क्षेत्रमा ट्वीनअटरमार्फत सेवा दिइरहेको छ।
श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार अधिकांश गन्तव्यमा टिकट सकिएको छ। “कलेजहरू बन्द भएकाले माग बढेको छ, सिट कम भएपछि भाडा महँगो हुनु स्वाभाविक हो,” उनले भने।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले पनि करिब ७० प्रतिशत टिकट बिक्री भइसकेको र तुम्लिङटारको सबै टिकट सकिएको बताए।
सडकको खराब अवस्था र वर्षासँगै दसैंमा घरफर्किने यात्रुहरू हवाई सेवातर्फ आकर्षित भएका छन्। तर महँगो भाडाले भने धेरैलाई ‘दसैंमा घर जानु कि नजानु?’ भन्ने दोधारमा पारेको छ।


