काठमाडौँ,१२ साउन । विद्युत् आपूर्तिको माग धान्न नसकिएको भन्दै चनौली वितरण केन्द्रले निकालेको सूचनाले मुलुकभर लोडसेडिङ सुरु हुन लागेको सन्देश फैलाएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ फिल्ड निरीक्षणमा निस्किएका छन्।
शनिवार चनौली वितरण केन्द्रले स्थान र समय तोकेर विद्युत् आपूर्ति बन्द हुने तालिका सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा “लोडसेडिङ सुरु!” भन्दै सूचना भाइरल बन्यो। प्रधानमन्त्री कार्यालयसम्मबाट सोधपुछ भएपछि शाक्यले आइतबार तत्कालीन उप कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई चितवन पठाए भने सोमबार आफू पनि भरतपुर पुगे।
शाक्यले चनौली केन्द्र पुगेर समस्या बुझ्ने र समाधान प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका छन्। भरतपुर १३२/३३ केभी सब स्टेसनबाट ३३ केभी लाइनमार्फत ३०० एम्पिएरसम्म विद्युत् प्रवाह सम्भव रहे पनि माग ४५० एम्पिएर पुगेपछि वितरण केन्द्रले आपूर्ति बन्द गर्ने सूचना निकालेको थियो।
प्राधिकरणका अनुसार अत्यधिक गर्मी र रोपाइँको समयमा पानीको अभावले विशेष गरी तराईका जिल्लामा विद्युत् माग एक्कासि बढेको छ। तर प्रणाली माग अनुसारको आपूर्ति गर्न सक्षम नहुँदा समस्या चुलिएको हो।
चनौली वितरण केन्द्र प्रमुख राजकुमार श्रेष्ठका अनुसार हर्दी सब स्टेसनबाट वैकल्पिक रूपमा ३०० एम्पिएर थप ल्याउने काम भइरहेको छ र सोमबार बेलुकादेखि आपूर्ति सामान्य हुने अपेक्षा गरिएको छ।
प्राधिकरणका कर्मचारीहरूका अनुसार सूचना सार्वजनिक भएपछि समस्या समाधानमा केन्द्रको ध्यान जानु सकारात्मक पक्ष हो। “सूचना निकालेर दबाब सिर्जना नगरेको भए लोडसेडिङबाट जोगिन सकिँदैनथ्यो,” एक कर्मचारीले भने।
कार्यकारी निर्देशक शाक्य चितवनपछि जनकपुर जाँदै छन्। अन्य वितरण केन्द्रमा पनि यस्तै समस्या भए तापनि चनौलीजस्तो सूचनामार्फत चासो सार्वजनिक नगरेकाले अवस्था गम्भीर नदेखिएको बताइएको छ।


