बुनपा एनोमस्स /काठमाडौं, मंसिर १२ – म बुढानीलकण्ठ नगरपालिका स्थापना हुनु पहिले नै कर्मचारीको रूपमा कार्यरत छु। यो आर्टिकल लेख्न खासगरी बूढानीलकण्ठ नगरपालिकाको पहिलो स्थानीय अनलाइन पत्रकार, आशिष गुरागाईको आग्रहले प्रेरित गरेको हो। आशिष दाइलाई मैले लामो समयदेखि चिनेको छु। मेरो नजरमा उनी कुनै सामान्य पत्रकार मात्र होइनन्, ‘मुक्कै मुक्का खालान, रक्ताम्मे होल्लान अझ ज्यान जाला तर स्रोत नखुलाउने ’ दाइको आदत र आफ्नो काममा निष्ठा राख्ने अद्भुत व्यक्ति हुन्। यो लेख मेरो व्यक्तिगत अनुभव र दाइप्रतिको सम्मानको नतिजा हो। मेरो नाम आर्टिकलमा बुनपा एनोमस्स लेख्ने छु अब लागौ विषय वस्तु तर्फ ।
बुढानीलकण्ठ नगरपालिकामा नगर स्थापना भएयता विभिन्न लक्षित वर्गका लागि थुप्रै तालिम आयोजना गरिएका छन्। ती तालिमहरू स्थानीय जनताको क्षमता अभिवृद्धि र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएका भए पनि यसका परिणामले अपेक्षित सफलता हासिल गर्न नसकेको देखिन्छ। यो अवस्थामा तालिमको प्रभावकारिता, बजेट व्यवस्थापन, र दिगो विकासको प्राथमिकता बारे पुनरावलोकन गर्न आवश्यक छ।
तालिमको नाममा खर्च र प्रभावकारिता
नगरपालिकाले लक्षित वर्गका लागि आयोजना गरेका तालिमहरूको नाममा ठूलो रकम खर्च गरेको छ कहिले मेयर समर्थक कार्यकर्ता त् कहिले उपमेयर समर्थक कार्यकर्ताले सबैभन्दा धेरै तालिमका कार्यक्रम लिएर जान्छन । तर, यस्ता तालिमहरूमा एउटै व्यक्तिले पाँचभन्दा बढी प्रमाणपत्र संकलन गरेको घटनाहरू सार्वजनिक भइरहेका छन्। यसले तालिमहरूको प्रभावकारिता र निष्पक्षता माथि गम्भीर प्रश्न खडा गरेको छ।
यी तालिमहरूले दिगो स्वरोजगार सिर्जना गर्नुको सट्टा व्यक्तिगत लाभ लिने एउटा माध्यम बनेको गुनासो व्यापक छ। तालिमहरूमा सहभागी हुने व्यक्तिहरूले प्राप्त गरेको ज्ञान र सीप व्यावसायिक वा व्यक्तिगत जीवनमा कत्तिको उपयोग गर्न सके भन्ने मूल्याङ्कनसमेत गरिएको छैन।
बजेट व्यवस्थापनको खोट
तालिमहरूमा खर्च भइरहेको बजेटको सही व्यवस्थापन नभएको गुनासो पनि उत्तिकै उठेको छ। नयाँ-नयाँ कार्यक्रम उद्घोष गरेर पेस्की रकम लिने र त्यसको फस्र्योट नगरिएको घटनाले नगरपालिकाको आर्थिक अनुशासनमा खलल पुर्याएको छ। यसले न केवल जनप्रतिनिधिहरूप्रति अविश्वास बढाएको छ, तर स्थानीय जनतामा पनि योजनाहरूको दिगोपनप्रति शंका उत्पन्न गरेको छ।
दिगो विकासका लागि सुधारका दिशा
तालिमका नाममा बजेट दुरुपयोग हुने प्रवृत्तिलाई अन्त्य गर्न र नगरपालिकाको स्रोत साधनलाई दिगो विकासमा लगानी गर्न निम्न सुधारका उपायहरू अवलम्बन गर्न सकिन्छः
१.तालिमको समीक्षा र प्राथमिकता निर्धारण
लक्षित वर्गका लागि तालिम अघि बढाउनु अघि आवश्यकता पहिचान र त्यसको प्रभाव मूल्याङ्कन गर्नुपर्छ। जस्तै, स्वरोजगार सिर्जनामा सहयोग गर्ने तालिम वा स्थानीय उद्योगमा सीधा उपयोग हुने सीपमूलक तालिमहरूलाई प्राथमिकता दिनुपर्छ।
२.पारदर्शिता र आर्थिक अनुशासन
पेस्की र अन्य खर्चहरूको पूर्ण फस्र्योट सुनिश्चित गर्दै बजेट पारदर्शिता कायम गरिनुपर्छ। नगरपालिकाका सबै कार्यक्रमहरूबारे नागरिकलाई जानकारी दिने र उनीहरूको निगरानीको व्यवस्था मिलाइनुपर्छ।
३बजेटलाई पूर्वाधारमा लगानी
तालिमका नाममा खर्च भइरहेको रकमलाई नगरपालिकाको दीर्घकालीन पूर्वाधार विकासमा लगानी गर्नुपर्छ। यो रकम विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिक यातायात, र सफा पिउने पानी जस्ता आधारभूत सेवामा प्रयोग गर्न सकिन्छ।
४.नयाँ सोच र सिर्जनात्मक योजना
बजेट खर्च गर्ने तरिका सुधार गर्न नयाँ सोच आवश्यक छ। उदाहरणका लागि, युवाहरूलाई प्रोत्साहन गर्ने उद्यमशीलता कार्यक्रम, महिला सशक्तिकरणका लागि विशेष कोष, र वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि सेवा केन्द्र स्थापना गर्न सकिन्छ।
नागरिक सहभागिताको महत्व
नगरपालिकाले स्थानीय जनतासँग छलफल गरी उनीहरूको आवश्यकताअनुसार योजना बनाउनु आवश्यक छ। जनप्रतिनिधिहरू र नागरिकबीच विश्वासको सम्बन्ध सुधार्न नागरिक सहभागिताको नीति लागू गर्नुपर्छ।
निष्कर्ष
बुढानीलकण्ठ नगरपालिकाले लक्षित वर्गका तालिमका लागि छुट्याएको बजेटलाई सही ठाउँमा लगानी गरेमा नगरको आर्थिक र सामाजिक विकासको दिगो मार्ग प्रशस्त हुनेछ। अहिलेको अवस्थालाई सुधार गर्न सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। लक्षित वर्गको नाममा हुने कार्यक्रम केवल व्यक्तिगत लाभका लागि सीमित हुन नदिन योजनाबद्ध र पारदर्शी प्रयास आवश्यक छ। दिगो विकास र समृद्ध बुढानीलकण्ठका लागि यो परिवर्तन अपरिहार्य छ।