GEN-Z भाइ बहिनीलाई खुला पत्र

Categories:

-

लेखक: कुमार खड्का

ठेगाना: कपन, काठमाडौँ

प्रकाशन मिति: २०८२ असोज ५ आइतवार

सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सबै पुस्तालाई आउँदो महान् चाड विजया दशमी, दीपावली, छठ र नेपाल संवतको हार्दिक शुभकामना व्यक्त गर्दछु।

सबैभन्दा पहिला भदौ २३ गतेको त्यो कालो दिन सम्झँदा मेरो मुटु काँप्छ। राज्यको गोलीले निर्दोष युवाहरूको रगत बग्यो, सपना चकनाचुर भयो। आजसम्म ७४ जना दाजुभाइ दिदीबहिनीहरूले प्राण गुमाइसकेका छन्। म ती सबै अमर सहिदहरूलाई शिर झुकाएर श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना गर्दछु। यो केवल एउटा घटना मात्र होइन, हाम्रो भविष्यलाई दिएको गम्भीर चेतावनी पनि हो।

भाइ बहिनी हो,
देश बिग्रेको छ भनेर हामी कराउँछौँ, नेताहरू भ्रष्ट छन्  दलहरू असफल छन् भनेर आलोचना गर्छौँ। तर के देश केवल नेताले मात्र बिगारेका हुन्? के हामी सबै निर्दोष छौँ? होइन। दोष नेतामा छ भन्ने कुरा नकार्न सकिँदैन तर, दोष हामीमा पनि छ। हामी नागरिकहरूले आफ्ना जिम्मेवारी बिर्सियौँ सजिलो बाटो खोज्यौँ संस्कार छाड्यौँ मेहनत गर्न छाड्यौँ। देश बनाउन हो भने केवल दोष देखाएर हुँदैन आफ्नै गल्ती स्वीकार गर्नुपर्छ आफैँबाट सुरुवात गर्नुपर्छ।

GEN-Z भाइ बहिनी,
तपाईँहरूको हातमै भोलिको भविष्य छ। तपाईँहरूको बानी, तपाईँहरूको सोच र तपाईँहरूको अनुशासनले नेपाललाई कुन दिशामा लैजान्छ भन्ने निर्धारण गर्नेछ। तर के बिहान घाम उदाउँदासम्म सुतेर देश बन्छ? के आमा–बुबाले कराइदिएपछि मात्र उठ्ने बानीले देश बन्छ? के दिनभर फोन इन्टरनेटको रमाइलोमा  हराएर ग्याजेटमा रमाउँदा देश बन्छ?

आजका अभिभावकहरू तपाईँहरूलाई हेरेर चिन्तित छन्। प्रविधि र सुविधाले सजिलो जीवन दियो तर मिहिनेतको मूल्य बुझ्ने सोच हराउँदै छ। शारीरिक र मानसिक स्वास्थ्यप्रति बेवास्ता भइरहेको छ धर्म–संस्कार र आचार–व्यवहार बिर्सिँदै छ ठुलोलाई सम्मान र सानोलाई माया गर्ने संस्कार हराउँदै छ। सामाजिक सञ्जाललाई ज्ञान र सीप बढाउने साधन बनाउन सकिन्थ्यो तर, क्षणिक रमाइलोको माध्यममा मात्र सीमित रह्यो। यो बाटोले कहाँ पुर्‍याउँछ भन्ने कुरा सोच्नै पर्छ।

देश बनाउन सुरु घरबाटै गर्नुपर्छ। घर बलियो भयो भने मात्र देश बलियो हुन्छ। आमाबाबुले ऋण धन गरेर पसिना बगाएर पढाएको मेहनतलाई बुझ्नुपर्छ। “घरमा पैसा छ कि छैन? पढाइको खर्च कसरी तिर्नुभएको छ?” भन्ने कुरा सोच्नुपर्छ। विदेश जाने सपनाले मात्र देश बन्दैन। देशमै बसेर सिर्जना गर्ने योगदान दिने संस्कार बसाल्नुपर्छ।

भाइ बहिनी हो,
म X–पुस्तामा पर्छु। तपाईँहरूको उमेरमा यो डिजिटल संसार थिएन, तर संघर्ष थियो। १८–१९ वर्षको उमेरमै काम सुरु गरेँ, २३–२४ वर्षमा २५ हजारबाट व्यवसाय सुरु गरेँ। ५–७ जनाबाट २०–५० जनालाई रोजगारी दिन सक्ने स्तरसम्म पुगेँ। असफलता आयो कठिनाइ आइरह्यो जीवन सजिलो भएन। तर, म कहिल्यै देशलाई दोष दिन्थेँ  आमाबाबालाई दोष दिन्थेँ। दोष आफैँलाई दिन्थेँ मेरो मिहिनेत पुगेन अझ बढी गर्नुपर्छ। यही सोचले मलाई आजसम्म टिकाइराखेको हो।

जीवन उतारचढावले भरिएको हुन्छ। असफलता आउँछ  ठोक्किनुपर्छ तर, त्यसले तपाईँलाई तोड्नु हुँदैन। ढले पनि फेरि उठ्न सकिन्छ। जब तपाईँ उठ्नुहुन्छ तब देश पनि उठ्छ।

त्यसैले भाइबहिनी हो  सङ्घर्ष नगरी सफलता सम्भव छैन। संस्कार बिर्सेर सभ्यता टिक्दैन। मिहिनेत नगरी लक्ष्य पूरा हुँदैन। देश बदल्ने शक्ति नेतामा मात्र छैन शक्ति तपाईँहरूमा छ। तपाईँहरूको सोच, तपाईँहरूको कर्म र तपाईँहरूको बलिदानले भोलि नेपाल कस्तो हुनेछ भन्ने निर्धारण गर्नेछ।

म एकै कुरा भन्न चाहन्छु सङ्घर्ष गर्न नडराउनुस्, मिहिनेत गर्नबाट नभाग्नुस् र संस्कार सभ्यतालाई नबिर्सनुस्। तपाईँहरूको यही सङ्घर्ष, अनुशासन र सकारात्मक सोचले मात्र नयाँ नेपाल जन्माउनेछ।

धन्यवाद।
जय नेपाल।

(कुमार खड्का यूवा उद्यमी हुन्)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य