रामप्रसाद भट्टराई :- एउटा स्थानीय पालिकाको नगर प्रहरीले अर्को पालिकाको जनप्रतिनिधि लछारपछार गर्यो भन्ने सुन्दा कस्तो लाग्छ ? पक्कै राम्रो लाग्दैन नी होइन र ? बुढानिलकण्ठ नगरपालिका र काठमाडौ महानगरको सिमा खहरे (चखुंचा र यज्ञमती) खोला अहिले विवादमा छ । साउन २५ गते काठमाडौ महानगरले नगर प्रहरी लगाएर एकतर्फी रुपमा उक्त खहरेमा हालिएको ढल निकाल्न डोजर चलाउन खोज्यो, तर यस बिषयमा बुढानिलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयले विना समन्वय विना छलफल दुई पालिकाको सिमा खोलामा एकतर्फी रुपमा डोजर नचलाउन आग्रह गर्यो । तर महानगर प्रहरीले कसैको सुनेन, फलस्वरुप बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराई महानगर प्रहरीकाे लछारपछारमा परे ।
उक्त ठाँउको स्थानीय भएको नाताले जहाँसम्म मलाई थाहा छ, त्यो खहरेलाई खोल्न कोही असहमत छैनन् तर तत्काल उक्त खहरे खोलेर तमासा बनाएर छाडियो भने उक्त स्थानमा झनै काहाली लाग्ने स्थिति बन्न जान्छ । उक्त सिमा क्षेत्रमा केही सय मिटर बक्स कल्भर्ट बनिरहेको छ भने केही पुलहरु पनि पर्छन् । हजाराैँ जनताले दैनिक रुपमा त्यो क्षेत्रमा आवतजावत गर्छन् खहरे खोल्दै गर्दा ती पनि भत्किने निश्चित छ। त्यसको विकल्पमा महानगरले के सोचेको छ ? खहरे खोल्दैमा बर्षामा त्यहाँ आउने बाढी कम हुँदैन झन् वरपरका घरमा बाढी पस्ने खतरा बढेर जान्छ ।
आज भन्दा १०, १५ बर्ष अगाडि त्यहाँ बाढीको गुन्जाएस थिएन, घर कम थिए, खुल्ला जग्गाले पानी सोस्थे, अहिले खाली जग्गा मुस्किलले भेटिन्छ, राम्रो ढल निकास, नालीको व्यवस्था छैन, बाटोमा ड्रेनेज छैन, हजारौं घरको ढल सिधा खहरेमा मिसाइएको छ । यस्ता कैयौं समस्याले गर्दा तत्काल आज नै त्यहाँ खहरेमा डोजर चलाउनु व्यवहारिक, बैज्ञानिक र जनधनको सुरक्षाका हिसाबले उपयुक्त छैन ।
त्यसमाथि यो सिमा खहरे भएकाले दुई पालिकाको समन्वय र समझदारी अनिवार्य छ । यो दुवै पालिकाको समस्या हो र समाधान पनि दुवै पालिका मिलेर खोज्न जरुरी छ । एकोहोरो रुपमा लिडेढिपी र स्टण्टबाजीले थप समस्या पैदा हुनेमा कुनै आशंका छैन । अनि एउटा स्थानीय पालिकाको नगर प्रहरीले अर्को पालिकाको जनप्रतिनिधि लछारपछार गरेरै भए पनि आफुलाई बाहुबली देखाउने रबैयाले गणतन्त्र र संघियताको धज्जी उडाएको छ ।
सेलिब्रेटी जनप्रतिनिधि बन्ने होडमा तानाशाह बन्न धेरै बेर लाग्दैन, तसर्थ अलि संयम भएर मिलेर जनताको हितमा निर्णय लिऔं । छलफल गरेर, योजना बनाएर दीर्घकालसम्म सोचेर काम गरौं ।