– रामकुमार एलन
केही दिनअघि भक्तपुरमा पत्रकार मित्र विजय चालिसे विकल (अर्को पुस्ताका विजय चालिसे) नेकपा एमालेको प्रेस चौतारी, बागमती प्रदेश सदस्य छाडेर समाजवादी प्रेस संगठन जिल्ला उपाध्यक्ष हुन आए । उनलाई संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीसहितले स्वागत गरे । उनै विजय चालिसेले फेसबुकमा लेखे, ‘एमालेको अब चुनाव चिन्ह के होला ?’ चालिसेलाई सबभन्दा बढी गाली तिनैले गरेका छन्, जो हिजोसम्म त्यही संगठनका लागि मरिहत्ते गरेर लागेका थिए । उनलाई ‘चैते, बढी बोल्छस् ?’ भन्नेहरु छन् ।
यो घटनाअघि मकवानपुरको नेकपा एमाले जिल्ला अधिवेशन सम्झौँ । आयोजक कमिटी अध्यक्ष बद्री लम्साल अध्यक्षका प्रत्यासी हुने नै भए । घनश्याम भुसालले भने झैँ साना दुःख गरेर एमाले बिगारिएको थिएन । त्यही एमालेमा ‘हार्ने सुविधा दिनुहोस् न भन्दा उम्मेदवारी पनि दिन नपाउने अवस्थामा’ पु¥याइएका भीम रावल र घनश्याम भुसालकै हालत गरियो लम्साललाई । सहमतिका नाममा निर्वाचन सारेर घर बसिरहेका लम्सालले थाहा पाए कि, अध्यक्ष त एकालाल श्रेष्ठ भइसके । जो अधिवेशन आयोजक कमिटी अध्यक्ष थिए, उनैले घरमा रेडियो सुनेर, फेसबुक हेरेर अध्यक्ष अर्कै भइसकेको थाहा पाउने अवस्था आयो ।
अर्को घटना पनि सम्झौँ । प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक बुटवलमा भएको थियो । त्यहाँ महासचिव राजेश राईलाई साथीहरुले झण्डैझण्डै भ्याकुरखेदाइ गरे । नेपाल पत्रकार महासंघको निर्वाचनमा ठूलो संगठन हुँदाहुँदै पनि पराजय भोग्नु परेको प्रतिवेदन प्रस्तुत गर्दा राईमाथि खनिनेहरुले कुटुँला झैँ गरे । राई र लम्साल दशबुँदे पक्षधर हुन् । विजय चालिसेले किन प्रेस चौतारी र एमाले छाडे ? त्यो पनि भक्तपुर, महेश बस्नेत र गोकुल बाँस्कोटाको बस्तीमा, विद्रोह चानचुने थिएन । यी सबै घटनाक्रम हेरेपछि दैनिकजसो एमाले फर्कने र छाड्नेहरुको मनोदशा अध्ययन गरिरहेको छु । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य त्यागेका मित्र सरोज यादवको अबको मनोदशा देख्न पाइएला ।
औपचारिक रुपमा नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेको महिनौँ बितेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली संसद अवरुद्ध पारेर सांसदहरुलाई भत्ता नछाड्न फर्मान जारी गरिरहेका छन् । एमाले फुटेकामा चिन्ता गर्ने ओली पंक्तिका नेताहरु भनिरहेका छन्, ‘भोलि फेरि मिल्नु नै छ, केही समयलाई हो ।’ तर माधवकुमार नेपाललाई पछाडिबाट लात हानेर हिँडेका दश भाइकै स्वर ठूलो छ । माधव नेपालले कम्युनिष्ट पार्टीमा गद्दारी गरे भनेर बोल्न छाडिरहेका छैनन् । हुँदाहुँदा पर्यटन मन्त्री प्रेम आले यतिखेर ओली र योगेश भट्टराईका लागि निकै पल्लाभारी भएका छन् । एमाले कसरी राम्रो बनाउने भन्दा पनि कसरी समाजवादी अनुहारलाई मोसो लगाउने भन्नेमा जनताको बहुदलीय जनवाद फूर्तिसम्राट बनेर कहिले माया भट्टका नाममा त कहिले योगेश भट्टराईका आवरणमा कुर्लिने क्रम जारी छ ।
उसो त नेकपा एकीकृत समाजवादी पनि बेलाबखत उही धारमा पो हिँडिरहेको छ कि भन्ने देखिन्छ । वैज्ञानिक समाजवादको यात्रामा केपी ओली र उनका मानिसहरुलाई गाली गर्ने भन्दा अबको कार्यदिशा, कार्यभार र कार्यनीतिबारे बताउन ढिला भइरहेको देखिन्छ । नेताहरु एमालेको आरोपको धोइपखालीमा व्यस्त देखिन्छन् । अनि एमालेलाई मोसोको बदला ड्रममै डुबाउन खोजिरहेका छन् । प्रेम आले र योगेश भट्टराईको दोहोरी मोसोको व्यापारीलाई पुग्ने फाइदा मात्र हो, ढिलोचाँडो गल्ती त पत्ता लागिहाल्छ नै । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख भएर घर गएपछि जेल जाने देश हो यो । सर्वोच्च अदालतका न्यायाधीशहरु विवादरहित छैनन् । फरक यत्ति हो, केपी ओली सरकारका मन्त्रीहरु सबैभन्दा बढी भ्रष्टाचारका मुद्दामा जोडिएका छन् र एमाले भएकै कारण मोसो दलिएको अनुहार लिएर माधवकुमार नेपाललाई गाली गर्दै यो जुनीमा एमाले हुनुको आयु पार गरिरहेका छन् ।
कार्यकर्तालाई दिग्भ्रमित पार्ने उद्योग निकै बढ्दो छ । बजारमा कृत्रिम अभाव छ । केपी ओली सरकारका पालामा इन्धनको भाउ बढ्दा थाहा नपाउनेहरु अहिले एमालेमा केन्द्रीय सदस्य भइसकेका छन् । देउवा सरकारले सिटामोल पनि दिन सकेन भनेको छ । अघिल्लो वर्ष कोरोनाकालमा पनि सिटामोलको कालोबजारी भएकै थियो । हो, अहिलेको गठबन्धन सरकारले खोप उपलब्ध गराउने नाममा सिटामोल पनि अभाव हुने वातावरण आउला कि भनेर सोच्नु पथ्र्यो । सोच्न सकेन । यसमा जनताले गठबन्धनलाई धारे हात लगाउने नै भए । त्यसको फाइदा प्रतिपक्षका नाममा एमालेले उठाउने नै भयो ।
एमालेजनलाई एउटा सुविधा छ, मन नलागे वरियता नाघेर मनलाग्दी गाली गर्न पाइन्छ, एमालेलाई जोगाउनै पर्छ । तर, पछिल्लो समय एमाले भनिएकाहरुले योगेश भट्टराई, घनश्याम भुसालका स्ट्याटस शेयर गरेको थाहा पाइएको छैन । भीम रावलले पनि बेलाबेला सरकारलाई तथ्यका आधारमा आलोचना गर्दा एमालेजनलाई त्यति प्रिय लागिरहेको देखिन्न । यी सबै घटनाक्रमहरुले के भन्छन् भने, नवौँ महाधिवेशनमा भाँचिएको एमालेजनको मन हत्पत्ति पलाउने अवस्थामा छैन । भन्नलाई त आठौँ महाधिवेशन बुटवलमै गुट तिनाउमा बगाएर आइयो भन्नेहरु पनि दुवै पार्टीमा छन् । दशौँ महाधिवेशनमा त अध्यक्षमा दोस्रो हुनेलाई वरिष्ठ नेताको पदसमेत खोसिने काम भएको छ । केही दिनअघि अनामनगरमा भेटिएका चौतारी अध्यक्ष गणेश बस्नेत भन्दैथिए, ‘साथीहरुलाई एघारौँ महाधिवेशन लागिसक्यो ।’ जनताको बहुदलीय जनवाद फरक बहसका लेखक घनेन्द्र ओझाको प्रश्न थियो, ‘साँच्ची एमालेमा ओलीपछिका नेता को हुन् ?’
२०६४ सालयता सामाजिक सञ्जालमा बढेको राजनीतिक बहसले अन्ततः ‘तँ कहाँ छस्, भोजराज सरको घरछेउ आइजो, त्यहीँ ढाड खुस्काइदिन्छु’ भन्ने पारामै हाम्रा नेताहरु पुगेका छन् । गुट अरु झाँगिएको छ । एमालेमा यी सबै ताडना खेपेर समाजवादीमा लागेका कयौँ अनुहारहरु पनि त्यही भन्छन् कि, कसलाई भन्ने ? यति सानो कुरा माथि भन्ने विषय रहेन तर एमालेमा झैँ यहाँ पनि लाखापाखा हुन थाल्यो । पक्कै पनि दुवैतिरका नेताहरु हिजो सँगै भएकाले यो विषय समीक्षा हुनु पर्छ । तराई मधेशमा ओलीविरुद्ध लागेका सरोज यादवहरु किन भीम रावल, घनश्याम भुसाल, बद्री लम्साल, राजेश राईको हालत देख्दादेख्दै फेरि एमालेमै फर्किन तयार भए ? यो विषय नेकपा एकीकृत समाजवादी बनाउने अभियानका सबैको लागि चोटिलो प्रश्न हो । सबै अवसरका लागि योग्य होलान् तर बाँडफाँडमा न्यायोचित भएन भन्नेहरुले सरोज यादवहरुलाई बिच्काउन हुन्थेन कि ?