बुढानीलकण्ठमा ३ वटा वडा जलेर  खरानी, नगरपालिकाको दमकल साउँजीहरूको घर धाउन व्यस्त

-

काठमाडौँ, ३० भदौ । बुढानीलकण्ठ नगरपालिकाका तीन वडाका कार्यालय आन्दोलनकै क्रममा आगोले जलेर खरानी भए। तर नगरपालिकाको दमकल भने आफ्नै वडामा नभई ‘साउजी’ हरूले देखाएको दिशामा व्यस्त रहेको खुलेको छ।

नगर प्रहरी प्रमुखले दिएको प्रतिक्रियाले यही तथ्य पुष्टि गर्छ। रातोसूर्य डटकममा प्रकाशित “वडा कार्यालय ३ दिन बल्दा दमकल र प्रहरी कहाँ हरायो ?” शीर्षकको समाचारप्रति जवाफ दिँदै उनले लेखेका छन : “त्यो दिन त दमकल जाने अवस्था नै थिएन। भोलिपल्ट वडा ११ मा दमकल गएको थियो। त्यसपछि महाराजगञ्ज प्रहरी प्रभाग, एनसेल र भाटभटेनीजस्ता माग भएका ठाउँमा गएको थियो। फिल्ड पत्रकारिता गर्नुस्, पत्यार नलागे लगबुक हेर्नुस्।”

उनको भनाइले झन् ठुलो प्रश्न उठाएको छ। आन्दोलनका क्रममा वडा १०, ११ र १२ का कार्यालय कागजात, फर्निचर र कम्प्युटरसहित खरानी भइरहँदा नगरकै दमकल किन बाहिरी स्थानमा परिचालन गरियो? कसको आदेशमा आफ्नै कार्यक्षेत्रभन्दा बाहिर दमकल पठाइयो भन्ने उत्तर अझै अस्पष्ट छ।

स्थानीयवासीहरू भने आक्रोशित छन्। उनीहरू भन्छन्, “नगरपालिका हाम्रो पसलबाट कर उठाउँछ, तर हाम्रो वडा कार्यालय जल्दा भने दमकल साउँजीहरूको आदेशमा बाहिरी ठाउँ धाउन पठाइन्छ। यो प्रशासन जनताको होइन, साउँजीहरूको हो।”

अब नागरिकहरूले दमकलको लगबुक सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, लगबुक सार्वजनिक भए मात्र कुन दिन, कुन समयमा, कहाँ–कहाँ दमकल परिचालन भयो भन्ने खुल्छ र नगर प्रशासनको प्राथमिकता जनताको सुरक्षामा थियो कि साउँजीहरूको आदेशमा भन्ने तथ्य प्रमाणित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य