काठमाडौँ,३१ भदौ। २४ गतेको आन्दोलनले बुढानीलकण्ठ नगरपालिकालाई राजधानीकै संवेदनशील इपिसेन्टरमा रूपान्तरण गरिदियो। आन्दोलनकारी जेन्जी युवाहरूले नगरपालिकाभित्रका भिआइपीका घरदेखि सामान्य संरचना सबैलाई निशाना बनाए। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सम्पत्तिदेखि मेयर मिठा राम अधिकारीसम्म प्रत्यक्ष प्रभावित भए भने नगरपालिकाका आधारभूत संरचना आक्रोशको आगोमा जलेर खरानी बने।

खरानी बनेका वडा कार्यालय
सबैभन्दा बढी क्षति वडा नम्बर १०, ११ र १२ का कार्यालयमा पुग्यो। आन्दोलनकारीले ती कार्यालयमा आगो लगाइदिएपछि सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटरदेखि सामान्य सेवा सुविधासम्म ध्वस्त भए। स्थानीयले आफ्नो आँखै अगाडि सरकारी कागजात खरानी भएको देखे, तर कुनै प्रभावकारी सुरक्षा व्यवस्थापन भएन।
जनप्रतिनिधि पनि सुरक्षित भएनन्
आक्रोश केवल सरकारी भवनमा सीमित रहेन। मेयर मिठा राम अधिकारीको निवास तोडफोड र लुटपाटको निशानामा पर्यो। वडा १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको गाडी जलाइयो, घरमा तोडफोड भयो। वडा ११ का अध्यक्ष राजु अधिकारीको घर आँगनमा पार्किङ गरिएको मोटरसाइकलसम्म जलाइयो यसै गरि वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराईको घरमा पनि तोडफोड गरे । यसले स्पष्ट गर्यो जनताको आक्रोश केवल संरचना होइन, प्रत्यक्ष नेतृत्वमाथि पनि केन्द्रित भएको थियो।

दमकल र प्रहरी कहाँ हरायो?
भदौ २४ गते दिउँसो वडा नम्बर ११ को कार्यालयमा सुरु भएको आगो २६ गतेसम्म दन्किरह्यो। तर नगरपालिकाकै स्वामित्वमा रहेको दमकल एक पटक पनि घटनास्थलमा पुगेन अझ भनौ नगरपालिकाको दमकलको टायरमा हिलो धुलो सम्सम लागेन। जनताले बारम्बार फोन गरेर, प्रतिनिधि पठाएर गुहार माग्दा पनि प्रशासन मौन बस्यो।

नगरपालिकामा २६ जना नगर प्रहरी छन्। तर जब वडा कार्यालय र त्यहाको सम्पत्ति ३ दिनसम्म जलिरहेको थियो त्यति बेला ती प्रहरी ‘अदृश्य’ भए। केही स्थानीय युवाले बाल्टिन र पाइप प्रयोग गरेर निभाउने प्रयास गरे, तर प्रशासनिक लापरबाहीका कारण क्षति रोक्न सकिएन। मेयर र वडा कार्यालय आक्रमणमा परे त्यसपछि मेयर र वडा अध्यक्ष सम्पर्क विहीन भएर सुरक्षित स्थानमा बसे, बसन् लगाइयो त्यस पछि नगरपालिकाको कमान्ड प्रमुख प्रशासकीय अजय बर्तौला कोमा पुग्यो । नगरपालिका र अन्य वडा सुरक्षित थिए । नगरपालिका चलिरहेको थियो तर नगर प्रशासन भने ३ दिन सम्म वडा कार्यालय कालो मुस्लो सहित बलिरहदा रमिते बनेर बस्यो ।
एक स्थानीय व्यवसायीले हामीसंग कटाक्ष गरे “नगरले हाम्रो पसलबाट कर त उठाउँछ, तर जब आगो निभाउनुपर्छ, एउटा पाइप पनि ल्याउँदैन। यस्तो प्रशासन किन चाहियो?”
प्रशासनको मौनता, आक्रमणकारीको सक्रियता
घटनास्थलमा केही टोले समूहका आक्रमणकारी रहेको स्थानीय बासीहरु बताउछन । उनीहरूले सुरुवाती क्षणमै वडा कार्यालय नियन्त्रण गर्ने प्रयास गरे। तर उनीहरूको शक्ति त्यति ठुलो थिएन। सामान्य सङ्गठित प्रतिरोध भएको भए तत्काल नियन्त्रणमा आउँथ्यो। तर प्रशासन मौन रह्यो।

मेयर ट्राकसुटमा नगरपालिका पुगे : बुढानीलकण्ठ नगरपालिका मेयर मिठा राम अधिकारी ट्राकसुटमा नगरपालिको काम समाली रहेका छन् । उनी नगरपालिकामा मेयरको कुर्सीमा ट्राकसुटमा देखिए उनी भन्छन् सबै लुटेर लगेनछ मात्र ट्राकसुट बाकि राखेछन् यही लगाएर आए ।


