टिप्पणी
काठमाडौं, २२ असार । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिक सक्रियतासँगै नेकपा एमालेको च्यासल केन्द्रमा हलचल सुरु भएको छ। भण्डारीले सक्रिय राजनीतिमा फर्कने सङ्केत दिन नपाउँदै पार्टीको आन्तरिक संरचना र भावी नेतृत्वको समीकरणमा ‘चस्का’ महसुस गरिन थालिएको छ। यो केवल एक नेताको सम्भावित पुनरागमनको प्रसङ्ग मात्र होइन, बरु एमालेको गहिरो आन्तरिक सङ्कट र त्यसबाट निस्कनका लागि वैकल्पिक चौतारोको खोजी पनि हो।
विद्या भण्डारी कुनै सामान्य नेतृ होइनन्। उनी एमालेको इतिहाससँग, विशेषतः जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तसँग गहिरो रूपमा गाँसिएकी छन्। मदन भण्डारीकी जीवनसाथी, सङ्गठित महिला आन्दोलनकी अगुवा, उपाध्यक्षको जिम्मेवारीमा पार्टी सम्हालेकी नेतृ अनि नेपालको पहिलो महिला राष्ट्रपति—भण्डारीको यात्राले नेपाली राजनीतिमा एउटा विशेष चिनारी बनाएको छ।
तर अहिलेको कुरा यो यात्राको निरन्तरतासँग होइन, उनको राजनीतिक पुनरागमनले एमालेभित्रको असन्तुलनलाई किन झस्काएको छ भन्ने हो। उनको एक शब्द सुनेर किन च्यासलमा केही नेताहरूलाई वाकवाकी लाग्छ । राजा ज्ञानेन्द्रलाई भारदारले ‘ सबैतिर राम्रो छ सरकार , केही अतिवादी सलबलाएका हुन्’ भनेर सुनाए जस्तै एमालेमा नेतृत्वलाई यही भारदारी शैलीमा व्याख्या गर्ने र चाकडी गरेर दिन बिताउनेहरूको निधारमा किन भण्डारीको नाम देख्दा चिट पसिना आउँछ ?
पार्टीको आदेशमै सदस्यता नवीकरण नगरेकी भण्डारी
भण्डारीले पार्टीको साधारण सदस्यता नवीकरण नगरेको भनेर केहीले उनी अब एमालेमै छैनन् भन्ने प्रचार गरेका छन्। तर वास्तविकता त्यो होइन। जब उनी राष्ट्रपतिको जिम्मेवारीमा पुगिन्, संविधानले अपेक्षा गरेको ‘अराजनीतिक अभिभावक’को भूमिकामा रहनुपर्ने भएकाले, पार्टीकै निर्देशनमा उनले सदस्यता नवीकरण गरेनन्। त्यसैले सदस्यता नवीकरणको अभावलाई आधार बनाई उनको निष्ठा र योग्यता माथि प्रश्न उठाउनु केवल राजनीतिक बदनियत हो।
उनले राष्ट्रपतिको जिम्मेवारी पनि इमानदारीका साथ सम्हालिन्। पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो, कुनै व्यक्तिगत आकांक्षामा उनी राष्ट्रप्रमुख बनेकी थिइनन्। यसै कारण, अहिले उनी पुनः राजनीतिमा फर्कन चाहन्छिन् भने त्यो उनको व्यक्तिगत इच्छा मात्र होइन, पार्टी र कार्यकर्ताको सामूहिक अपेक्षा पनि हो। उनी व्यक्तिगत स्वार्थ पुरा गर्न राष्ट्रपति बनेकी होइनन् भन्ने कुरा त हालै उनको घोषणाले छर्लङ्ग पारेको छ। किन कि उनले कुनै पनि पूर्व राष्ट्रपतिको हैसियतको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरिसकेकी छन् ।
एमालेको गम्भीर सङ्कट र चौतारोको खोजी
वर्तमान एमाले नेतृत्व आन्तरिक रूपमा सङ्कुचित र गुटीय सोचमा रमाइरहेको आरोप भित्रबाटै उठ्न थालेका छन्। पार्टीभित्रको लोकतन्त्र, बहस, प्रतिस्पर्धा र मतभेदको सम्मान जस्ता मूल्यहरू क्रमशः ओझेलमा परेका छन्। सर्वसम्मत नामको पञ्चायती शैलीले एमालेभित्र विचारको बहस होइन, समर्पणको अभ्यास बढेको अनुभूति कार्यकर्ताहरूलाई हुन थालेको छ।असल नेतृत्व होइन, जवज प्रति प्रतिबद्ध होइन, गुट र शिवजीको गलाका सर्प बनेर अरूलाई डस्न खोज्नेहरू ‘ हनुमानको खोजी हुने गरेको छ।
यस्तो अवस्थामा, विद्या भण्डारीको नाम एउटा चौतारो बनेर आएको छ। जस्तो यात्रुले लामो उकाली चढ्दा सास फेर्न चौतारो खोज्छ, अहिले एमालेभित्र गुटीय दमनको दबाबमा रहेका कार्यकर्ताहरू विद्या भण्डारीलाई त्यही चौतारोको रूपमा हेर्न थालेका छन्।
व्यक्तिगत हिसाबमा उनलाई राजनीतिमा फर्कनु आवश्यक त छैन, तर कार्यकर्ताले आवश्यक ठान्न थालेका छन्। नेतृत्वको रिक्तता र विचारको शून्यता भित्र विद्या भण्डारी एक भरोसायोग्य विकल्पको रूपमा देखिन थालेकी हुन्।
जबजको पुनरुत्थानको आवश्यकता
मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद (जबज) अहिले एमालेको मूलधारबाट विस्थापितजस्तै भएको छ। प्रतिस्पर्धामा श्रेष्ठता, सामूहिक नेतृत्व, विचारमा बहस, कार्यकर्ताको सशक्तीकरण जस्ता जबजका आधारभूत तत्त्वहरू गुमाउँदै गएको बेला, विद्या भण्डारीको राजनीतिमा पुनरागमनले त्यही मूल विचारलाई पुनः बल दिन सक्ने विश्वास गरिएको छ।
आजको एमालेमा गुट विशेषको सदस्यता विना माथिल्लो तहमा पुग्ने सम्भावना लगभग असम्भवजस्तै भएको छ। पद प्राप्तिको सर्त गुटसँग नजिक हुनु हो भने प्रतिस्पर्धामा श्रेष्ठता भन्ने जबजको विचार कहाँ हरायो? जबजले स्पष्ट रूपमा गुटबन्दी र अधिनायकवादलाई अस्वीकार गर्छ। यस्तो अवस्थामा जबजकै बिम्ब मानिने विद्या भण्डारीको उपस्थिति आवश्यक महसुस हुन थालेको हो।
नेतृ होइन, विचारको प्रतिनिधि
विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउनुपर्ने भन्ने बहस चलिरहेको छ। तर त्यो बहस उनको व्यक्तिगत आकांक्षा होइन, पार्टीभित्रको गम्भीर वैचारिक रिक्तता र स्खलनको प्रतिक्रिया हो। अध्यक्षको योग्यता मात्र नभई विचारको प्रस्टता, कार्यकर्तासँगको सम्बन्ध र नेतृत्वको दिग्दर्शक क्षमताका कारण पनि उनी अग्रपङ्क्तिमा ल्याउनुपर्ने आवाजहरू बढेका छन्।
आजको एमालेमा नेताको सट्टा ’नियन्त्रक’हरूको वर्चस्व छ। विचार, प्रतिबद्धता र निष्ठाको साटो सम्बन्ध, निकटता र गुटबन्दीलाई प्राथमिकता दिइएको अनुभूति कार्यकर्ताहरूमा व्यापक छ। यही असन्तोषको परिणामस्वरूप उनीहरू फेरि विद्या भण्डारीजस्तो नेतृलाई अगाडि ल्याउने मनस्थितिमा पुगेका छन्।
राजनीति फर्कने कदम भन्दा बढी, विचारको पुनर्जागरण
विद्या भण्डारीको राजनीतिमा सक्रियता एउटा साधारण घटना होइन। त्यो एमालेको भविष्य र दिशा निर्धारण गर्न सक्ने मोड हो। उनको पुनरागमनले नेतृत्वमा वैकल्पिक शक्ति, विचारको स्पष्टता र जबजको पुनरुत्थान सम्भव बनाउने अपेक्षा गरिएको छ।
च्यासलमा चस्का पर्नु भनेको कुनै नेताको प्रवेशप्रति असहजता होइन, त्यो सत्ताको संरचना हल्लिने डर हो। गुट विशेषले कब्जा गरेको संस्थागत पङ्क्तिमा निष्ठावान् कार्यकर्ताको आगमनले चिढ उत्पन्न गराउनु स्वाभाविकै हो। तर त्यो चिढ एमालेको पुनर्जागरणको सङ्केत पनि हो।
राजनीति केवल कुर्सीको लागि होइन, विचार र प्रतिबद्धताको लडाइँ पनि हो। विद्या भण्डारीको राजनीतिमा सम्भावित पुनरागमनले एमालेभित्र हराउँदै गएको विचारलाई पुनः जीवन दिन सक्नेछ। नेतृत्व परिवर्तन होइन, विचारको पुनर्जागरणको यो सङ्केतलाई कार्यकर्ताले बुझ्नु जरुरी छ। र त्यही कारणले विद्या भण्डारी आज कार्यकर्ताको आवश्यकता बनेकी छन् । उनी आफैँको आकांक्षाले राजनीति फर्किन खोजेकी होइनन् भन्ने कुरा स्पष्ट भएको छ ।

