काठमाडौँ,११ असार । संवैधानिक प्रावधानअनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित वार्षिक बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, छ वटा महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकाले भने तोकिएको समयमा बजेट प्रस्तुत गर्न सकेन।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा तोकिएको मितिअनुसार मंगलबार अधिकांश स्थानीय तहले आ–आफ्ना बजेट सार्वजनिक गरे। केही स्थानीय तहले तोकिएको मितिभन्दा अघिनै बजेट पेस गरिसकेका थिए। तर, कतिपय स्थानीय तहमा आन्तरिक विवाद र प्राविधिक समस्याका कारण समयमै बजेट पेस हुन सकेन।
बिराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकाले भने आफ्नो वार्षिक बजेट सार्वजनिक गरिसकेका छन्। तर, देशको राजधानी काठमाडौँ महानगरपालिका भने आन्तरिक विवादमा अल्झँदा बजेट पेस गर्न असफल भएको हो। संघीय सरकारका कतिपय मन्त्रालयको भन्दा पनि धेरै बजेट विनियोजन गर्दै आएको काठमाडौँ महानगरको बजेटबारे सर्वसाधारणमा चासो रहने गरेको छ।
हालसम्म काठमाडौँ महानगरपालिकाको नगरसभा बसेको छैन। न नगरसभा बसेको छ, न त नीति तथा कार्यक्रम र बजेट पेस भएको छ। यस्तो संवेदनशील विषयमा महानगरको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।
सूत्रका अनुसार महानगरमा कार्यरत संघीय सरकारबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृत र निर्वाचित प्रमुख बालेन्द्र साहबीच केही असमझदारी देखिएको अनुमान गरिएको छ। नगरपालिकाको आन्तरिक समन्वय अभावका कारण नीति तथा कार्यक्रम र बजेटबारे छलफल समेत हुन नसकेको बताइएको छ।
यस्तै, देशका अन्य केही स्थानीय तहले पनि नीति तथा कार्यक्रम पेस गर्न सकेका छैनन्।

