8.1 C
Kathmandu

तीन बाउकी छोरी

-

बिहानैको घाम झ्यालबाट छिरेको थियो। ऋतु घरको ढोकाबाट हतार–हतार भित्र पसिन्। हातमा एउटा कागज थियो — बैङ्क स्टेटमेन्ट। त्यसलाई हातले झट्काउँदै सीधै आमाको अगाडि फालिन्।

“आमा, भन्नुहोस् — यी तिन जना पुरुष को हुन्, जसले तपाईँलाई पटक–पटक पैसा पठाइरहेका छन्?” ऋतुको स्वर कठोर थियो।

मेदिना स्तब्ध भइन्। ओठ थरथर काँप्दै थिए। आँखा चिम्लिए।
तर चुपचाप।

फेरि ऋतु चिच्याइन्, “किन चुप लाग्नुभएको? बोल्नुहोस्! ती दयालु महापुरुष को हुन् जसले मेरो खातामा होइन, तपाईँको खातामा पैसा हालिरहेछन्?”

मेदिना आँखा झुकाएर बसिन्, अनि टाउको तलतिर झुकाउँदै चुप लागिन्।

ऋतु कडकीइ, “एक वेश्या आइमाईले पनि दिन जवाफ दिन्छ। तपाईं किन दिन सक्नुभएको छैन? छि! मलाई लाज लाग्छ तपाईँलाई आमा भन्न!”

त्यसपछिको क्षण केही थमिएको जस्तो भयो। मेदिना एक्कासि टाउको उठाउँदै थर्किँदो स्वरमा भनिन्, “चुप लाग! ती तीनै जना तेरा बाउ हुन्!”

घरको हावासम्म रुक्यो। चिसो चिसो निसास्सिएको वातावरण एकै चोटि सन्नाटामा बदलियो। ऋतु हेरिरहिन् आमाको अनुहारतिर।

“तीन जना?” ऋतु हकप्रद भए झैँ चिच्याइन्। “एक जना बाउ त हुन सक्छन्। तर तीन जना? के म कुनै खेलौना हुँ?”

त्यसपछि, आँखा रसाइरहेको मेदिनाले ऋतुको काँधमा टाउको राखिन्। स्वर बिस्तारै थरथराउँदै आयो।

“म तिमीजस्तै सानी थिएँ, ऋतु। बाबु सानैमा बित्नुभयो। आमा बिरामी — थलिएकी। मैले गाउँ, सहर दौडिएँ। तर एक्लो थिएँ। सहारा थिएन।”

“त्यही बेला, फरक–फरक समयमा भेट भए — रमेश, उमेश र एकादशीसँग। सबै जना धनाढ्य थिए। म उनीहरूबाट आमाको उपचारका लागि सहयोग मागेँ। तर…” ।

“तर के?” ऋतुको स्वर केही कोमल हुँदै थियो।

“उनीहरूले भने — ‘दश दिनका लागि श्रीमती बन। पैसा तिमीलाई दिन्छौँ।’ म निरुपाय थिएँ। पैसा नै मेरो जीवनको लागि जरुरी थियो। अनि मैले स्वीकार गरेँ।”

“त्यही क्रममा… तँ जन्मिस्। को तेरो बाउ भन्ने प्रश्नको उत्तर मेरो हृदयमा छ तर कानुनमा छैन। तीनै जनाले तेरी पढाइ, लालन पालन, सबै खर्च व्यहोरे। अनि तेरो बिहेमा पनि उनीहरू नै सारा खर्च गर्छन्।”

ऋतु स्तब्ध भइन्। आमाले आफ्नो कपोलमा हात राख्दै न्यानो स्वरमा थपिन् — “ती दिनहरूमा म आत्मा बेचेर तेरो भविष्य किनिरहेकी थिएँ।”

ऋतुको आँखा रसाए। गालामा खसेको कपाल पछ्याउँदै भनी — “तर आमा, मेरो असली बाउ त को? रमेश? उमेश? कि एकादशी?”

मेदिना फेरि चुप।
ऋतुको स्वर फेरि चर्कियो, “बोल्नुहोस्, को हो मेरो बाउ?”

मेदिनाले आँखा टोलाउँदै भनिन्, “तीनै जना तेरा बाउ हुन्।”

ऋतु झनै बिथोलिइन्, “तर कसरी सम्भव छ एक जना छोरीको तीन–तीन जना बाउ?”

मेदिनाले गहिरो सास फेर्दै भनी —
“तँ पनि आइमाई हो। एक्लो, असहाय, निरुपाय भइहेर। त्यसपछि बुझ्नेछस्। जब उमेर पुगेकी एउटी अबला आइमाई तीन पुरुषहरूसँग दश–दश दिन रात बिताउँछे, तब त्यो कोखबाट जन्मने बच्चाको बाउ को? त्यो निर्णय म गरौँ कि तँ?”

ऋतु चुप भइन्। आफ्नै हृदयमा हिलो खनिएको जस्तो अनुभव भइयो।
ती तीन जना पुरुषहरू अब दया लाग्न थाले। र आमाको आँखा पनि पहिलोपल्ट देवीझैँ देखिन थाले।

त्यसपछि ऋतु केही नबोली, आमाको नजिक सरेर काखमा टाउको राखिन्। आँसु लुकाउँदै थरथराइन् —
“आमा, तपाईँले दुःख गरेर जुन म जन्माइदिनुभयो, ती तीन जनाको बाउ हुनु नहुनु भन्दा पनि तपाईँको माया नै मेरा लागि काफी छ।”

त्यही दिनदेखि ऋतुले आफूलाई तीन छायाको बिच जन्मिएकी एक उज्यालो सम्झन थालिन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य