बागद्वार : परम्परा, पहिचान र पुकार

Categories:

-

आशिष गुरागाई / काठमाडौँ,३१ चैत्र ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते राजधानी काठमाडौंको छेउमै रहेको बागद्वारमा हजारौँ श्रद्धालुहरू स्नानका लागि पुग्छन्। यो दृश्य केवल धार्मिक उत्साहको कथा होइन, यो हाम्रो सामूहिक सांस्कृतिक स्मृतिमा रहेको एउटा मौन चेतावनी पनि हो  “हामी आफ्नो स्रोत बिर्सिंदैछौं।”

बागद्वार, जहाँ बाघको मुखबाट झरिरहने पानी बागमतीको मुहानका रूपमा चिनिन्छ, धार्मिक रूपमा पनि अत्यन्त पवित्र स्थल हो। वैशाख संक्रान्तिमा यहाँ स्नान गरेमा पाप पखालिन्छ भन्ने विश्वास केवल धर्मको विषय होइन, यो आत्म शुद्धिको अभ्यास, प्रकृति प्रतिको आभार र मानव र जलस्रोत बीचको सम्बन्धलाई सम्झाउने अवसर हो।

तर यति महत्वपूर्ण स्थलमा पुग्न झण्डै चार घण्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यता र त्यसक्रममा देखिने अराजकता, सफाइको अभाव, सूचना र संकेत बोर्डको कमी, र पर्यावरणीय संरक्षणप्रति लापरवाही  यी सबैले गम्भीर प्रश्न उठाउँछन्। के हामी केवल “पवित्र जल”को प्रतीक्षा गरिरहेका श्रद्धालु मात्र हौं कि त्यो जल बगिरहुन् भनेर जिम्मेवारी लिन तयार नागरिक पनि ?

बाग द्वारलाई संरक्षित धार्मिक तथा सांस्कृतिक गन्तव्य बनाउनु भनेको केवल तीर्थको प्रचार गर्नु होइन त्यो जलको स्रोतको संरक्षण गर्नु हो जसले काठमाडौं उपत्यकाको सभ्यतालाई जीवन दिएको छ। आज काठमाडौंको बागमती प्रदूषित, सुक्खा र उपेक्षित बनेको छ भने त्यसको उपचार बागद्वारबाट नै सुरु हुनुपर्छ।


पछिल्ला वर्षहरूमा बूढानीलकण्ठ र  गोकर्णेश्वर   नगरपालिकाले केही पहल गरेका छन् । तर, त्यो समन्वय र दीर्घकालीन सोच विनाको अस्थायी प्रयत्न हो। बागद्वार जस्तो स्थलको संरक्षणको जिम्मा के केवल स्थानीय तहलाई दिइनु उचित छ? संघीय सरकार, राष्ट्रिय निकुञ्ज, धार्मिक ट्रस्टहरू र वातावरणविदहरूबीच समन्वयकारी संयन्त्र बन्नु जरुरी छ।

आज पनि वैशाख १ मा तान्त्रिक विधिबाट मूर्ति लैजाने, स्नान पश्चात विष्णुद्वार र सपन तीर्थमा जल चढाउने जस्ता परम्पराहरू जीवित छन्। यिनको संरक्षण केवल संस्कृति जोगाउने अभ्यास होइन यो सामाजिक एकता र आत्मिक शुद्धिको अभ्यास हो। यस्ता अवसरहरूले हामीलाई आत्म निरीक्षण गर्न पनि प्रेरित गर्छ हामी कति नजिक छौं आफ्नै प्रकृति, परम्परा र पहिचानसँग ?

बागद्वारले पानी दिन रोकेको छैन, उसले बोल्ने सकेको भए सायद भनिरहेको हुन्थ्यो “तिमीहरू मेरो मुहानमा आउँछौ, तर मलाई जोगाउने कोही छैन।” यसैले, नयाँ वर्षको सुरुवातमा बागद्वार जानु केवल नुहाउने काम होइन, यो पुनः सोच्ने काम हो  कि हामी कता गइरहेका छौं? बागद्वारको पानी बगिरहन्छ कि हामी उसलाई सुकाउँछौँ?

 

समाधान स्पष्ट छ  संरक्षित पहुँच, व्यवस्थित सूचना, धार्मिक पर्यटनको प्रवर्द्धन, बागमती प्रणालीको समग्र पुनर्जीवन अभियान र नागरिक चेतना। हामी नयाँ वर्ष मनाउँदैछौँ, तर हाम्रो मूल अस्तित्वलाई नमनाइ त्यो उत्सव अधूरो हुन्छ। त्यसैले, बागद्वार फर्कौँ  केवल शरीर पखाल्न होइन, चेतना जागाउन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य