दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

Categories:

-

काठमाडौं, २८ चैत । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई भारतमा पक्राउ गरेर नेपाल ल्याउने तयारी भइरहेको छ। केही दिनअघि मात्रै उनी प्रहरीलाई गाडीले ठक्कर दिँदै घटनास्थलबाट भागेका थिए।

तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं सम्पर्कविहीन भएका थिए। उनी फरार रहे पनि सामाजिक सञ्जालबाट भिडियो सन्देश पोस्ट गर्दै आफू लुकेर नभएको दाबी गर्दै आएका थिए। तथापि, उनी कुन स्थानबाट बोलिरहेका थिए भन्नेबारे प्रहरीले कुनै ठोस जानकारी दिन सकेको थिएन। यसै कारण सुरक्षाप्रति गम्भीर प्रश्न उठेका थिए र प्रहरीले ट्र्याक गर्न नसकेको भन्दै आलोचना पनि भएको थियो।

चैत १५ गतेको प्रदर्शनमा प्रसाईं नेतृत्वको समूहले राजधानीमा उग्र शैली अपनाएको थियो। प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण गरिएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो। उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए।

दुर्गा प्रसाईं लामो समयदेखि विवादित वक्तव्य र आन्दोलनमार्फत चर्चामा रहँदै आएका व्यक्ति हुन्। उनले केही महिनायता सरकार र राजनीतिक दलहरू विरुद्ध आन्दोलन चर्काइरहेका थिए। उनका अभिव्यक्ति र क्रियाकलापहरूकै कारण पछिल्लो समय विभिन्न सहरहरूमा तनाव बढेको थियो।

प्रहरी स्रोतले जनाएअनुसार, भारतमा पक्राउ परेका प्रसाईंलाई कानुनी प्रक्रिया पुरा गरी चाँडै नेपाल ल्याइनेछ। उनीमाथि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको, प्रहरीमाथि आक्रमण गरेको, र हिंसा फैलाएको आरोपमा मुद्दा दायर गरिने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य