काठमाडौँ, २८ चैत। विवादित व्यवसायी दुर्गा प्रसाईंले भारत भागेको भन्ने आरोपको खण्डन गर्दै आफू नेपालमै रहेको बताएका छन्। हालै एक भिडियो सन्देशमा उनले आफूलाई खोज्नको लागि प्रयास नगर्न र आफ्नो जीवनको सुरक्षा सुनिश्चित भए मात्र आफू बाहिर आउने तयारीमा रहेको बताएका छन्।
प्रसाईंले भने, “मेरा वकिलहरू र मानव अधिकारको रोहबरमा हो भने म भोली २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु, नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु।”
उनले प्रहरी प्रशासनसँग सहकार्य गर्ने र आवश्यक भएमा आफैं प्रहरीसमक्ष उपस्थित हुने पनि बताएका छन्। यसअघिको केही प्रहरी रिपोर्टमा दुर्गा प्रसाईंलाई भारत भागेको आरोप लगाइएको थियो। यसबारे प्रहरी प्रशासनको प्रतिक्रिया आएको छैन ।


