काठमाडौँ ,६ असोज । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा भेटिएको भनिएको पैसामाथि छानबिन सुरु हुने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा यी नेताहरूको घरमा भेटिएका वा जलेका भनिएका नोटबारे अनुसन्धान थालेको विभागका एक अधिकारीले जानकारी दिएका छन्। आन्दोलनकै क्रममा नेताहरूको निवासमा आगजनी हुँदा ठूलो मात्रामा नगद जलेको वा उडाइएको भन्ने विभिन्न तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयमा शंका बढेको हो।
आइतबार विभागको टोली बूढानीलकण्ठस्थित देउवा र खड्काको घर पुगेको थियो। टोलीले जलेका घरभित्र मुचुल्का तयार गर्नुका साथै नोटका टुक्रा र खरानी संकलन गरेको छ। विभागले अब प्रचण्डको खुमलटारस्थित निवासमा पनि छानबिन गर्ने तयारी गरेको छ। त्यहाँ हाल प्रहरीको कडा सुरक्षा व्यवस्था गरिएको छ।
विभागका अधिकारीका अनुसार आगजनीका क्रममा नोटहरू पूर्णरूपमा नष्ट भए वा केही मात्रामा सुरक्षित रहे भन्नेबारे प्राविधिक परीक्षण गर्नुपर्ने हुन्छ। केही प्रदर्शनकारीहरूले जलेका वा आधा सुरक्षित नोट बोकेको आशंका गरिँदै छ। त्यसबारे थप प्रमाण संकलन भइरहेको र प्रारम्भिक चरणमै अनुसन्धान अघि बढाइएका अधिकारीले बताए।
सामाजिक सञ्जालमा जलेका वा हवामा उडाइएका भनिएका नोटका तस्बिर तथा भिडियोहरू भाइरल भएका छन्। तर ती सबैमा सत्यता के हो भन्ने औपचारिक पुष्टि भइसकेको छैन। विभागले संकलन गरेको खरानी र टुक्राहरू यदि वास्तविक नोट भएको प्रमाणित भए, त्यसलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा ल्याइने जनाएको छ।
यसैबीच राजस्व अनुसन्धान विभागले पनि विषयलाई गम्भीरताका साथ लिएर समानान्तर रूपमा छानबिन सुरु गरेको छ। दुई वटै निकायले संकलित प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि नेताहरूको निवासमा देखिएको नगदसम्बन्धी शंका–उपशंकाले राजनीतिक वृत्तमै ठूलो बहस निम्त्याएको छ।


