काठमाडौं,२ असोज । जेनजी आन्दोलनका क्रममा घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ।
भदौ २४ गते आन्दोलनकारीले खनालको घरमा आगो लगाउँदा ७० वर्षीया चित्रकार समेत जलेकी थिइन्। अहिले उनी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत छन्।
खनालका अनुसार उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि चिकित्सकले बुधबार अपरेशन गरेर उनको देब्रे हात काटेका हुन्।
“संक्रमण बढेको कारण डाक्टरले अप्रेसन गर्नुपर्छ भने। हामीले अनुमति दियौँ। अन्ततः मेडमको कुहिनोदेखि तलको देब्रे हात काटियो,” खनालले भने।
उनले थपे, “आज फेरि निमोनियाको संक्रमण देखिएको सुनाएँ। के गर्ने हो, केही बुझ्न सकिरहेको छैन।”
डाक्टरको प्रारम्भिक परीक्षणअनुसार चित्रकारको शरीरको करिब १७ प्रतिशत भाग जलेको छ। अहिले उनी बोल्न नसक्ने अवस्थामा रहेको खनालले बताए।


