काठमाडौँ, १ असोज । दसैंमा सार्वजनिक बिदा हुने भएकाले कारोबार ठप्प हुने चिन्ता व्यापारीलाई थियो। तर अर्थ मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि भन्सार र बैंकहरू खुला रहने जनाएको छ। यसले आयात–निर्यात र वित्तीय कारोबार सहज हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री रामेश्वर खनालले मंगलबार मन्त्रालयमा उद्योगी व्यवसायीसँग गरेको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले दसैंमा एक दिन बाहेक अन्य बिदामा भन्सार र बैंक सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार, व्यवसायिक वातावरणलाई सहज बनाउन सरकारले सबै सम्भावित कदम चालेको छ। पहिरोका कारण अवरुद्ध तातोपानी नाका खुलाउन पहल भइरहेको र विकल्पका रूपमा मुस्ताङको कोरोला नाकाबाट सामान भित्र्याउने कार्य भइरहेको उनले बताए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललगायतका प्रतिनिधिहरू सहभागी थिए।
व्यवसायीको मागअनुसार मन्त्री खनालले कर बुझाउने समयसीमा पनि एक महिना थप गरेका छन्। यसले दसैंमा कारोबार र भन्सार निकासीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।


