जेन-जी आन्दोलनमा ज्यान गुमाएकाकाहरुको सम्झनामा भोलि (बुधबार) साँझ माइतीघरमा दीप प्रज्वलन हुने

Categories:

-

काठमाडौं,  ३१ भदौ। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा भोलि (बुधबार) साँझ माइतीघरमा दीप प्रज्वलन गर्ने भएको छ। अनामनगरस्थित महासंघ प्रदेश कार्यालयमा मंगलबार बसेको बैठकले श्रद्धाञ्जली कार्यक्रमका लागि निर्णय गरेको हो।

बैठकले आन्दोलनमा मृत्यु भएका नागरिक तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकार, सुरक्षाकर्मी र सर्वसाधारणको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घाइते र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारले पहल गर्नुपर्ने निष्कर्ष निकालेको सचिव अजित अधिकारीले जानकारी दिए।

त्यसैगरी, आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा पुगेको क्षतिको अभिलेखिकरणका लागि प्रदेश अध्यक्ष टेनिस रोकाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा उपाध्यक्ष रमा न्यौपाने, सचिव अधिकारी, कोषाध्यक्ष सञ्जीप घिमिरे ‘शुभचिन्तक’, सदस्य उमा शर्मा, रामशरण काफ्ले, रमिला योञ्जन तथा उपत्यकाका तीनै जिल्ला शाखाका अध्यक्षहरू रहनेछन्।

बैठकले जेन-जी पुस्ताको आन्दोलनमा राज्य र प्रदर्शनकारी दुवै पक्षबाट सञ्चारकर्मी आक्रमणमा परेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस स्वतन्त्रताको रक्षा गर्न सबैसँग अपिल गर्दै महासंघले सञ्चारकर्मी तथा सञ्चार गृहमाथि भएका  आक्रमणमा संलग्नलाई कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग माग गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य