काठमाडौं, भदौ ३०। जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको शवहरू नगर परिक्रमासहित आर्यघाटसम्म पुगेका थिए।
मृत्यु भएकाहरूमा चारजनालाई राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो। शवयात्रामा नागरिकहरूको घनिष्ट सहभागिता रहेको थियो भने सुरक्षा र व्यवस्थापनका लागि प्रहरी र स्थानीय प्रशासनले व्यापक तयारी गरेका थिए।
ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल समेत शवयात्रामा सहभागी भई श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले घटनाप्रति दुख व्यक्त गर्दै मृतक परिवारसँग समवेदना प्रकट गरेका छन्।
जेनजी आन्दोलनले देशभरि राजनीतिक र सामाजिक स्तरमा ठूलो असर पारेको छ। मृत्यु भएका व्यक्तिहरूको अन्त्येष्टि कार्यक्रममा नागरिकहरूले शोक प्रकट गर्दै शान्ति र न्यायको माग गरे।
शवयात्रा पशुपति आर्यघाटमा पुगेसँगै धार्मिक अनुष्ठान र अन्तिम संस्कार गरियो। आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदान र बलिदानलाई सम्झन नागरिकहरूले मौन श्रद्धाञ्जली दिएका थिए।



