सुशीला कार्की मन्त्रिपरिषद् विस्तार : खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै

-

काठमाडौँ,३० भदौ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढ्ने भएको छ । प्रधानमन्त्री कार्कीले तीन जना मन्त्रीलाई आजै शपथ गराउने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतहरूले जनाएका छन् ।

नियुक्ति पक्का भएका मध्ये अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थसचिव रामेश्वर खनालले सम्हाल्नेछन् । खनाल हालै आर्थिक पुनर्संरचना आयोगको संयोजकका रूपमा चर्चामा आएका थिए, जसको प्रतिवेदनका आधारमा निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटका केही प्रावधान समेटेका थिए।

ऊर्जा क्षेत्रमा सफल नेतृत्व गरेका कुलमान घिसिङलाई ऊर्जा मन्त्रीको जिम्मेवारी दिन लागिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको हैसियतमा लोडसेडिङ अन्त्य गर्ने भूमिकाका लागि चर्चित बनेका घिसिङलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा पदमुक्त गरिएको थियो।

त्यसैगरी, कानुन र गृह मन्त्रालयको जिम्मेवारी वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले पाउने भएका छन्। उनी लामो समयदेखि संवैधानिक कानुन र मानवअधिकारको क्षेत्रमा सक्रिय रहेर सार्वजनिक बहसमा सहभागी हुँदै आएका छन्।

अन्य मन्त्रीहरूको नाम अझै टुंगो लागेको छैन । तर, कार्की नेतृत्वको सरकार जेन–जी आन्दोलनबाट बनेको हुनाले मन्त्रिपरिषद् विस्तारमा सो समूहका केही प्रतिनिधिलाई समेत समेट्ने तयारी भइरहेको स्रोतको दाबी छ।

कार्की सरकारले २१ फागुनमा आमनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । त्यसैले, सरकारलाई तत्कालै पूर्णता दिँदै निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने चुनौती रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य