काठमाडौँ,२५भदौ ।नेपाली सेनाले बुधबार बेलुकीसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक अपिल जारी गर्दै बुधबार बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुने जनाएको हो।
यसपछि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने समेत सेनाले जानकारी दिएको छ।
निषेधाज्ञा तथा कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य साधन सञ्चालनमा रोक लगाइएको छ। सेनाले एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन मात्रै सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ।
सेनाले आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा व्यक्ति वा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
निर्देशनालयका अनुसार हाल पनि विभिन्न अराजक समूहहरूले आन्दोलनको नाममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट तथा व्यक्ति लक्षित हिंस्रक आक्रमणदेखि बलात्कार प्रयाससम्मका घटनाहरू गरिरहेका छन्।
यसैबीच सेनाले अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहको पछि नलागी आधिकारिक सूचनामात्रै सम्प्रेषण गर्न अपिल गरेको छ।


