वार्ताका लागि सेनाको आग्रह, जेनजीभित्र प्रतिनिधि छनोटमा छलफल

Categories:

-

काठमाडौँ,२५भदौ । नेपाली सेनाले जेनजी समूहसँग वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले बुधबार बिहान ८ बजेभित्र नाम उपलब्ध गराउन अनुरोध गरेको हो।

सेनाको यो आग्रहपछि जेनजीका विभिन्न समूहभित्र अहिले आन्तरिक छलफल भइरहेको छ। उनीहरूले राजनीतिसँगै अर्थतन्त्रका बारेमा जानकार व्यक्ति पनि वार्तामा पठाउने विषयमा विचार-विमर्श गरिरहेका छन्।

“हामी नेपाल” समूहले केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेको छ। त्यस्तै, गत चुनावमा डडेल्धुरामा उम्मेदवार बनेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि चर्चामा छ। ढकाल हाल धनगढीमा रहेका छन्। यसै समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि वार्ता गरेको थियो, तर उनले आफू पार्टीसँग आबद्ध भएकाले प्रतिनिधिका रूपमा बस्न नसक्ने स्पष्ट पारेकी छन्।

यता आन्दोलनमा सक्रिय रहेका अन्य जेनजी समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा छलफल चलिरहेको छ। काठमाडौं महानगर प्रमुख बालेन शाह जेनजीका तर्फबाट वार्तामा सहभागी हुने कि बेग्लै भूमिकामा प्रस्तुत हुने भन्नेबारे अझै निश्चित भएको छैन।

मंगलबार मात्रै राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेको थियो। त्यसैगरी, सेनापति अशोकराज सिग्देलले भिडिओ सन्देशमार्फत आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए।

नेपाली सेनाको सहजीकरणमा वार्ताको तयारी भइरहे पनि वार्ताको ढाँचा र निकासको मार्गचित्र भने अझै स्पष्ट भएको छैन। बालेन शाहले संसद विघटनपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य