काठमाडौँ,२५भदौ । काठमाडौं र भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन्। राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रमा गतिविधि चलाइरहेका उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो।
नेपाली सेनाले गएरातिदेखि नै राजधानीसहितका संवेदनशील क्षेत्रमा सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ। सेनाले देशमा विद्यमान सुरक्षा चुनौती र विभिन्न स्थानमा उच्छृंखल समूहका गतिविधिलाई मध्यनजर गर्दै नागरिकलाई सजग रहन आग्रह गरेको छ। समुदायमा लुटपाट, आगजनी वा जीउधनको क्षति गर्ने मनसायका गतिविधि देखिएमा सेनाको हटलाइन ९८६३०२९०२९ मा व्हाट्सएप वा भाइबरमार्फत जानकारी दिन पनि आग्रह गरिएको छ।
यस्तै, सेनाले मुख्य सडक र चोकहरूमा नियन्त्रण कडा पारेको छ। आवश्यक कामबाहेक सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई भने परिचयपत्रका आधारमा आवतजावत गर्ने छुट दिइएको छ।
काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडक खण्डमा हतियारसहित बाक्लो संख्यामा सैनिक जवान परिचालन गरिएको छ। बिहान मोर्निङ वाकमा निस्किएका सर्वसाधारणलाई समेत रोक्दै घर फर्काइरहेको सेनाले कर्फ्यु आदेश कार्यान्वयनमा रहेको स्पष्ट पारेको छ।


