काठमाडौँ,२४भदौ । बुढानिलकण्ठ नगरपालिकामा आज प्रदर्शनकारीहरूले मेयर र विभिन्न वडा कार्यालयमा तोडफोड गरेका छन्। यद्यपि सम्पूर्ण नगरपालिका सुरक्षित रहेको बुढानिलकण्ठ नगरप्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वडा नं. १०, ११ र १२ का कार्यालयमा तोडफोड भएको पुष्टि भएको छ। साथै, नगरप्रमुख मिठाराम अधिकारीको निवासमा समेत आक्रमण भएको जनाइएको छ। प्रदर्शनकारिहरुले मेयरको निवासमा रहेका सामाग्री बाहिर निकालेर जलाई रहेका छन ।
नगर प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु भट्टराई र वडा नं. ११ का अध्यक्ष राजु अधिकारीको निजी निवासमा समेत प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेको जानकारी प्राप्त भएको छ।
स्रोतका अनुसार प्रदर्शनकारीहरू समूहमा भेला भएर चर्का नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए। वडा नं. १३ मा पनि उनीहरूले आक्रमण गर्न खोजेका थिए तर स्थानीय बासिन्दाले सम्झाइ-बुझाइ फर्काएका थिए। तर मेयर र वडा अध्यक्षका घर तथा वडा कार्यालयमा तोडफोड हुँदा भने स्थानीयवासीको मौन समर्थन रहेको देखिएको छ।
प्रदर्शनकारीहरूले मेयरविरुद्ध “भ्रष्ट मेयर राजीनामा दे” तथा वडा अध्यक्षहरूविरुद्ध नाराबाजी गरेका थिए।

