काठमाडौँ,२४ भदौ ।जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकारलाई बढ्दो दबाब बीच नेपाली कांग्रेसका मन्त्रीहरू बीच संयुक्त राजीनामा दिने विषयमा गम्भीर छलफल भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार कांग्रेसबाट सरकारमा रहेका सबै मन्त्रीहरू अहिले राजीनामाबारे बहस गर्दै छन्।
कांग्रेसबाट सरकारमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा नौजना मन्त्री सहभागी छन्। तीमध्ये परराष्ट्र मन्त्री आरजु राणा देउवा, खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, ऊर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे छन्।
जेनजी आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकारको भूमिका र सुरक्षा निकायको दमनप्रति तीव्र आलोचना भइरहेको छ। आन्दोलन नियन्त्रणका क्रममा भएको गोलीकाण्डले मुलुकभर असन्तोष चुलिएको छ। यसैबीच गृहमन्त्री रमेश लेखकले हिजो नै आफ्नो पदबाट राजीनामा दिएका छन्।
स्रोतका अनुसार कांग्रेसभित्र यस विषयमा मतभेद छ। पार्टी सभापति शेरबहादुर देउवा सरकारबाट नफर्किने अडानमा छन्। तर, नेता डा. शेखर कोइरालाले भने आफ्ना निकट मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएका छन्। शेखर पक्षले आन्दोलनका क्रममा भएको हिंसा र ठूलो मानवीय क्षतिपछि सरकारमा बसिरहनु कांग्रेसको छविको लागि घातक हुने तर्क गरेको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्: यदि कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिए भने गठबन्धन सरकार थप संकटमा पर्न सक्छ। प्रधानमन्त्रीलाई विपक्षी दल मात्र नभई आफ्नै सरकारभित्रबाट पनि बढ्दो दबाबको सामना गर्नुपर्नेछ।
कांग्रेस नेताहरूबीच अझै अन्तिम निर्णय भने भएको छैन। आजै पुनः छलफल गरेर मन्त्रीहरूले संयुक्त राजीनामा दिने वा पार्टीलाई निर्णय गर्न आग्रह गर्ने विषय टुंगो लाग्ने बताइएको छ।

