जेन–जी प्रदर्शनपछि प्रधानमन्त्री ओलीको वक्तव्य – के भने उनले

-

काठमाडौँ,२३ भदौ ।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनले प्रदर्शनमा विभिन्न स्वार्थी समूहको घुसपैठका कारण संवैधानिक निकायका संरचनामा तोडफोड र आगजनी भएको बताउँदै राज्यको सम्पत्ति जोगाउन बाध्य हुने स्थिति आएको उल्लेख गरे।

एक अपिलमार्फत ओलीले भने, “हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं। तर घुसपैठका कारण हिंसात्मक घटना भई ज्यान जाने अप्रिय परिस्थिति उत्पन्न भयो।” उनले मृतकप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाए।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने नीति नलिएको भन्दै ओलीले स्पष्ट पारे। उनका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार नेपालमा दर्ता र सूचीकरण नगरेका केही प्लेटफर्मलाई अस्थायी रूपमा निस्कृय गरिएको हो। “सरकार सामाजिक सञ्जालको प्रयोग रोक्ने पक्षमा छैन। दर्ता र सूचिकरण भएपछि पुनः सञ्चालन हुन्छ,” ओलीले बताए।

उनले सामाजिक सञ्जाल नियमनका लागि सरकार एक वर्षदेखि प्रयत्नशील रहेको र यो क्रममा अदालतले पनि सूचिकरणको आदेश दिएको जानकारी दिए। सूचीकरण गर्न सरकारद्वारा गत हप्ता गरिएको अन्तिम आह्वानलाई केही कम्पनीले बेवास्ता गरेपछि मात्रै अस्थायी रूपमा निस्कृय गरिएको उनले स्पष्ट गरे।

ओलीले आजको सम्पूर्ण घटनाक्रम र क्षतिको छानबिन गरी आगामी दिनमा यस्ता अवस्था नआओस् भन्ने उद्देश्यसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गर्ने घोषणा गरे। उनले प्रदर्शनमा आयोजकले पनि घुसपैठ भएको स्वीकार गरेको र ढिलो नगरी घर फर्कन आह्वान गरिसकेपछि हिंसात्मक गतिविधि बढेको बताए।

उनले भने, “राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा चलाउने हाम्रो प्रयास र जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो। अब यस्तो परिस्थिति नदोहो¥याउन सबै पक्ष जिम्मेवार बन्नु जरुरी छ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य