काठमाडौँ,२३ भदौ ।काठमाडौंमा सोमबार जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिइसकेको आयोजक युवाहरूले जनाएका छन्।
सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवाहरूलाई जेनजी पुस्ता भनिन्छ। उनीहरूले केही दिनयता सामाजिक सञ्जालमार्फत आन्दोलनको आह्वान गर्दै आएका थिए। प्रदर्शन सोमबार बिहान ९ बजे माइतीघरमा सुरु हुनेछ भने ११ बजे मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरिएको छ।
आन्दोलनका मुख्य मुद्दा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध, बढ्दो भ्रष्टाचार र नातावाद अन्त्य हुन्। आयोजकहरूका अनुसार यो आन्दोलन शान्तिपूर्ण हुनेछ र सबै सहभागीले मर्यादित ढंगले आफ्नो आवाज उठाउनेछन्।
जेनजी पुस्ताको आन्दोलनलाई विभिन्न राजनीतिक दलका जनप्रतिनिधि र केही नेताले पनि समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा आन्दोलनसँग सम्बन्धित ह्यासट्यागहरू ट्रेन्डिङमा रहेका छन्।
यो पहिलोपटक हो जब नयाँ पुस्ताले डिजिटल अधिकार र सुशासनका लागि सडकमा उत्रिएको हो। सहभागी युवाहरूले आफ्नो आन्दोलनलाई ‘भविष्यको नेपालका लागि आवाज’ का रूपमा व्याख्या गरेका छन्।

