काठमाडौँ,२३ भदौ । लितपुरमा सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालको बाटो खुला गरिदिएको छ। उमेर हद र दुई कार्यकालको सीमा हटाउँदै महाधिवेशनले गरेको संशोधनसँगै ओली पुनः अध्यक्ष बन्ने सुनिश्चित भएको छ।
महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’को जगमा नेपाली विशेषताको समाजवाद कार्यान्वयन गर्ने कार्यदिशा पारित गरेको छ। उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको संशोधन प्रस्तावमार्फत उमेर सीमा र कार्यकाल सम्बन्धी प्रावधानलाई हटाइयो। प्रतिनिधिहरूले उमेर हद र दुई कार्यकालको सीमा राख्नुपर्ने सुझाव दिए पनि ती कुरा दस्ताबेजमा समावेश भएनन्।
तर, ओलीले रोक्न खोजेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेभित्र पुनः सक्रिय बनाउनुपर्ने आवाज विधान महाधिवेशनमा समेत गुन्जियो। साउन ६ गते केन्द्रीय कमिटी बैठकमार्फत ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय गराएका थिए। त्यसयता उनले निरन्तर भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए। तर पछिल्ला बैठकदेखि भण्डारीको पक्षमा नेताहरू खुल्न थालेका छन्।
महाधिवेशनमा प्रदेशगत छलफलदेखि समूहगत बैठकसम्म भण्डारीलाई रोक्नु अनुचित भएको धारणा बलियो देखियो। बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले ‘सदस्यता रोक्ने निर्णय पुनर्विचार गर्नुपर्छ’ भने। स्थायी कमिटी सदस्य लालबाबु पण्डितका अनुसार १० समूहका प्रतिनिधिमध्ये करिब एक प्रतिशतले भण्डारीलाई एमालेको सदस्यता दिनुपर्ने कुरा उठाए।
यसअघि सचिवालय बैठकमै उपाध्यक्ष रामबहादुर थापा, सचिव द्वय योगेश भट्टराई र गोकर्ण विष्ट भण्डारीको पक्षमा उभिएका थिए। त्यसअघि नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अन्य नेताहरूले पनि भण्डारीलाई एमाले भित्र सक्रिय बनाउनुपर्ने लबिइङ गर्दै आएका थिए।
महाधिवेशन उद्घाटनमा ओलीले प्रतिवेदन बाहेक अन्य विषय छलफल नगर्ने भने पनि भण्डारीको मुद्दा उठ्नबाट रोक्न सकेनन्। छलफलमा धेरै नेताहरूले पार्टी एकताको लागि पूर्वराष्ट्रपतिलाई एमाले भित्र समेट्नुपर्ने धारणा राखे। बागमती प्रदेशका अरुण नेपालले भने, “पार्टीलाई चौतर्फी आक्रमणबाट बचाउन सबैलाई समेट्नपर्छ।”
पछिल्लो एक महिनायता एमालेका हरेक फोरममा भण्डारीको मुद्दा प्रवेश गरिसकेको छ। विधान महाधिवेशनमा भण्डारीले पाएको समर्थन हेर्दा आगामी महाधिवेशनसम्म उनलाई रोकिराख्नु ओलीका लागि सहज देखिँदैन। ओली सर्वशक्तिमान् भए पनि भण्डारीबारे एमाले भित्रको बहस अझ चर्किने प्रस्ट भएको छ।

