11.1 C
Kathmandu

सामाजिक सञ्जाल बन्दबारे प्रधानमन्त्री– देशलाई हेपेको सहन सकिँदैन

-

ललितपुर,२२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रता जस्ता मूल्यमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन्। उनले अन्य कुरा सह्य भए पनि देशलाई हेप्ने प्रवृत्ति कहिल्यै स्वीकार्य नहुने बताएका हुन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन शनिबार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले बेथिति, भ्रष्टाचार र हेपाहा प्रवृत्तिका विरुद्धमा सदैव लड्ने प्रतिबद्धता दोहोर्याए।

‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ पनि हैन,’ ओलीले भने, ‘हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान गरेर आएका शक्ति हौं।’

उनले पछिल्लो समय सामाजिक सञ्जाल दर्ता र नियमनको विषयमा फैलाइएको भ्रमको खण्डन गर्दै एमाले सामाजिक सञ्जालविरुद्ध नरहेको स्पष्ट पारे। ‘नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले केही समूहले केवल विरोधका लागि विरोध गर्दै समाजलाई भ्रमित पार्ने प्रयास गरेको आरोप लगाए। ‘अहिले केही पात्रहरू विरोध मात्र गर्ने पुतलीजस्ता भएका छन्। कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन,’ उनले भने।

उनले पछिल्लो समय जेनजी पुस्ताको नाममा समाजलाई भड्काउन खोजिएको बताए पनि ती युवाहरू देशप्रेमी रहेको टिप्पणी गरे।

सञ्चार प्रविधिमा नियमनका लागि सरकारले एक वर्षअघि नै दर्ता गर्न आग्रह गरेको स्मरण गराउँदै ओलीले भने, ‘देशको स्वाधीनता ठूलो हो। चार जना मानिसको रोजगारी खोसिएकोभन्दा संविधान, कानुन र राष्ट्रिय स्वाभिमानको रक्षा महत्वपूर्ण हुन्छ। स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ र स्वतन्त्रता पनि त्यही बाटो हुँदै आउँछ।’

उनले असमानता अन्त्य र विभेद कम गर्दै समावेशी र समृद्ध नेपाल बनाउन पार्टी अगाडि बढिरहेको बताए। छलफल र सहमतिबाट तय भएका नीतिहरूलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ लाई पूरा गर्ने गरी एमाले अघि बढ्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य