काठमाडौं,२२ भदौ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि यसको विरोधमा भोलि काठमाडौंमा युवाहरूले आयोजना गर्न लागेको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत उमेर हदका कारण आफू उक्त प्रदर्शनमा प्रत्यक्ष सहभागी हुन नसक्ने तर उद्देश्यप्रति पूर्ण समर्थन रहेको बताएका हुन्।
बालेनले आफ्नो फेसबुकमार्फत लेखेका छन्, “भोलिको र्याली स्पष्ट रूपमा स्वस्फूर्त GenZ को हो। उहाँहरू भनेको २८ वर्ष मुनिका युवाहरू हुन्, जसका लागि म पनि अझै बुढो देखिन्छु। मलाई उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ।”
उनले प्रदर्शनलाई राजनीतिक दल वा नेताहरूले आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनीसमेत दिएका छन्। “भोलि यो स्वस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,” उनले भने।
बालेनले आफू प्रदर्शनमा जान नसक्ने कारण स्पष्ट गर्दै लेखेका छन्, “म उमेर हदका कारण जान मिलेन तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ।”
यससँगै उनले युवाहरूमाथि ठूलो अपेक्षा व्यक्त गर्दै “प्रिय GenZ भन्नुस्, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?” भन्ने प्रश्नसमेत राखेका छन्।
सरकारले हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सूचीकृत नभएका सामाजिक सञ्जाल र एपहरू बन्द गर्ने तयारी गरेको छ। यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै युवा पुस्ताले विरोध जनाउँदै आएका छन्।
भोलिको प्रदर्शन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा युवाहरूको स्वस्फूर्त सहभागितामा हुने बताइएको छ। आयोजकहरूले यसलाई कुनै राजनीतिक दल, समूह वा नेताको संलग्नता बिना स्वतन्त्र रचनात्मक विरोधको रूपमा प्रस्तुत गर्न लागेका छन्।
मेयर बालेनको समर्थनपछि सामाजिक सञ्जालमा युवाहरू उत्साहित देखिएका छन्। धेरैले उनको अभिव्यक्तिलाई सकारात्मक प्रतिक्रिया दिएका छन् र ‘युवाको आवाजलाई बालेनले साथ दिएकोमा धन्यवाद’ भन्दै प्रतिक्रिया जनाएका छन्।
सरकार र प्रदर्शनकारीबीच कसरी संवाद हुन्छ र भोलिको विरोध कार्यक्रम कस्तो हुन्छ भन्ने विषयमा अहिले सबैको ध्यान केन्द्रित भएको छ।

