सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

Categories:

-

काठमाडौं,सरकारले नेपालमा सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण प्रक्रिया पूरा नगरेका सञ्जालहरूलाई तत्काल रोक लगाउने निर्णय गरेको हो।

सरकारले पछिल्लो पटक सूचीकरणका लागि सात दिनको समय दिएको थियो, जुन बुधबार राति १२ बजे सकिएको छ। सो समयसीमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले तोकेको हो। त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाललाई अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो।

तर, तोकिएको अवधिसम्म फेसबुक, युट्युब, एक्स (पूर्व ट्विटर) जस्ता ठूला प्लेटफर्मसहित २६ वटा सामाजिक सञ्जालले सूचीकरण प्रक्रिया पूरा नगरेको मन्त्रालयले जनाएको छ। यी सबै प्लेटफर्म अब नेपालमा बन्द गरिने भएका छन्।

हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकरण भइसकेका छन्। सरकारका अनुसार यी प्लेटफर्महरूले मन्त्रालयसँग सम्पर्क गरी आवश्यक विवरण उपलब्ध गराएका छन्।

यसअघि सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ओटीटी एप्स र इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रशारण हुने सामग्रीमाथि रोक लगाउन सरकारलाई आदेश दिएको थियो। अदालतले नियमनका लागि आवश्यक कानुन बनाउन पनि सरकारलाई परमादेश जारी गरेको थियो।

सञ्चार मन्त्रालयले सूचीकृत नभएका सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन गर्न प्राविधिक तयारी अघि बढाइरहेको जनाएको छ। विज्ञ र सरोकारवालाहरूले यस कदमलाई नियमनका दृष्टिले आवश्यक भनेका छन् तर प्रयोगकर्तामाझ मिश्र प्रतिक्रिया आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य