काठमाडौं,१७ भदौ । काठमाडौं महानगरपालिका–६, पानीट्यांकीस्थित “पानीट्यांकी युवा समाज” ले भाद्र १४ गते शनिबार शिवपुरीको धार्मिक तथा पर्यटकीय स्थल बाघद्वारमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
समाजका अध्यक्ष उमेश सापकोटा सहित कार्यसमिति सदस्य सीता तिमल्सिना, सल्लाकार गोपाल पराजुली, दीपक तिमल्सिना, आजीवन सदस्य मुरारी नेपाल, सदस्य रञ्जना न्यौपाने र शुभेच्छुक नरेश श्रेष्ठ गरी सात जना समाजसेविहरुको सहभागितामा सरसफाई कार्य सम्पन्न गरिएको हो।
अध्यक्ष सापकोटाका अनुसार यो कार्यक्रम केवल पदयात्रा र शारीरिक व्यायामका लागि मात्र नभई प्रकृतिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन, रमाइलो गर्दै बागमतीको मुहान र बाघद्वारको सरसफाई गर्न आयोजना गरिएको हो। उनले भने, “यो दिनलाई विशेष बनाउन र प्रकृति संरक्षणको सन्देश दिन यो कार्यक्रम गरिएको हो।”
दैनिक जीवनमा प्लास्टिकको प्रयोग बढ्दै गएको र त्यसले वातावरणमा पुर्याउने क्षतिलाई मध्यनजर गर्दै कार्यक्रममा “स्वच्छ वातावरण, स्वास्थ्य जीवन”, “भविष्यका लागि वातावरण जोगाऔँ”, “प्लास्टिक प्रयोग नगरी अघि बढौँ” भन्ने जनचेतनामूलक सन्देश दिइएको थियो।
सापकोटाले कार्यक्रममा सहभागी ७० वर्षीय सल्लाकार गोपाल पराजुलीलाई धन्यवाद दिँदै भने, “साढे तीन घण्टाको पैदल यात्रामा उहाँको साथले कार्यक्रमलाई ऊर्जा प्रदान गर्यो।” साथै, १५० सदस्य भएको संस्थाबाट केवल सात जना मात्र सहभागी हुनु खेदजनक रहेको उनको भनाइ थियो।
पानीट्यांकी युवा समाजले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोजकहरूले यो अभियानले अन्य संघ–संस्थालाई पनि यस्ता प्रकृति संरक्षणका अभियान सञ्चालन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

