काठमाडौँ, १५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई साताअघि भारत र चीनबीच लिपुलेक पासमार्फत भएको व्यापार सम्झौतामा आपत्ति प्रकट गरेका छन्। शनिबार चीनको थ्यानचिनस्थित सरकारी गेस्ट हाउसमा राष्ट्रपति सि चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा ओलीले लिपुलेक नेपालको भूभाग भएकाले त्यसलाई व्यापारिक मार्ग बनाउने सहमति आपत्तिजनक भएको बताए।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्रीले नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट धारणा राखेका थिए। यसै क्रममा नेपाली दूतावासले पनि वक्तव्य जारी गर्दै लिपुलेक मुद्दामा नेपालको अडान कायम रहेको जानकारी दिएको छ।
चिनियाँ विदेश मन्त्रालयले भने नेपालले वार्ताका क्रममा ताइवान चीनकै भूभागको रुपमा रहेको उल्लेख गरेको जनाएको छ। चीनका राष्ट्रपति सिले लिपुलेक विवाद भारत र नेपालको मुद्दा भएकाले आफ्नो देश नजोडिने जवाफ दिएका थिए। ऐतिहासिक दस्तावेज र नक्साका आधारमा नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा आफ्नो दावी राख्दै आएको छ।
प्रधानमन्त्री ओलीले चीनसँग लिपुलेकबारे कुरा उठाउनु अन्तर्राष्ट्रियकरणको पहिलो प्रयासका रूपमा कूटनीतिज्ञहरूले व्याख्या गरिरहेका छन्। तर भारतसँग वार्ता अझै बाँकी छ। भदौ पहिलो साता प्रधानमन्त्री ओली भारतको निम्तोमा बोधगया पुग्ने कार्यक्रम तय छ। यस क्रममा लिपुलेक सहमति र विवादित भूभागमा नेपालको दाबी प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि उठाउनेछन्।
यस घटनापछि नेकपा एमालेले फेसबुकमा धन्यवाद अभियान सुरु गरेको छ। प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी… जय जय–नेपाल!’ क्याप्सनसहित पोस्ट गरेपछि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली लगायतले धन्यवाद पोस्ट गरेका छन्।
तर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई ओलीको कदम साहसिक भन्दै समर्थन जनाएका छन्। एमाले कार्यकर्ताहरू अहिले फेसबुकमा ‘धन्यवाद’ ट्रेन्डलाई पछ्याइरहेका छन् भने प्रधानमन्त्रीको कदमलाई राष्ट्रिय भूमि संरक्षणको दृष्टिकोणबाट उत्साहजनक मानिरहेका छन्। कतिपयले भने यसलाई उग्रराष्ट्रवाद र प्रचारबाजीको रुपमा आलोचना गरेका छन् ।

