काठमाडौं,१५ भदौ । यमनको हुथी विद्रोहीद्वारा सञ्चालित सरकारका प्रधानमन्त्री अहमद गालिब अल-रहावी र अन्य केही मन्त्रीहरू इजरायलको आक्रमणमा मारिएको दाबी गरिएको छ। यो हमला बिहीबार राजधानी सानामा भएको हो। यो घटना गाजा युद्ध सुरु भएयता हुथी नेताहरूको मृत्यु भएको पहिलो घटना मानिएको छ।
हुथी सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले शनिबार सार्वजनिक गरेको बयानअनुसार बिहीबारको आक्रमणमा प्रधानमन्त्रीसहित उनका केही सहयोगी र मन्त्रीहरू मारिएका छन् भने अन्य घाइते भएका छन्। तर उनले रक्षा मन्त्री पनि मारिएका छन् वा छैनन् भन्ने स्पष्ट पारेका छैनन्।
इजरायलले शुक्रबार विज्ञप्ति जारी गर्दै आक्रमणमा हुथी समूहका रक्षा मन्त्री, चीफ अफ स्टाफ र अन्य वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेको बताएको थियो। तर परिणामबारे अझै आधिकारिक पुष्टि गरिएको छैन।
अहमद गालिब अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री नियुक्त भएका थिए। तर वास्तविक सत्ता भने उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। आक्रमणपछि शनिबार उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। रहावीलाई सामान्यतया औपचारिक पदमा सीमित नेता मानिन्थ्यो।
रोयटर्सका अनुसार आक्रमणमा ऊर्जा, परराष्ट्र र सूचना मन्त्रीहरू पनि मारिएको स्रोतहरूले बताएका छन्। आक्रमणको बेला वरिष्ठ हुथी नेताहरू नेता अब्दुल मलिक अल-हुथीको टेलिभिजन सम्बोधन हेर्न जम्मा भएका थिए।
यस आक्रमणपछि इजरायली रक्षा मन्त्री इस्राएल कात्जले यसलाई ‘हुथीहरूविरुद्धको ठूलो प्रहार’ भएको बताएका छन् र “यो सुरुवात मात्रै हो” भनेका छन्। अर्कोतर्फ हुथी प्रवक्ता र रक्षा मन्त्री मोहम्मद अल-आतिफीले समूह बदला लिने चेतावनी दिएको हुथी सञ्चालित सवा समाचार एजेन्सीले जनाएको छ।
गाजा युद्ध सुरु भएपछि हुथी समूहले इजरायलतर्फ मिसाइल प्रहार गर्दै आएको छ भने रातो सागरमा जहाजमाथि आक्रमण पनि गर्दै आएको छ। यी गतिविधिहरूलाई उनीहरूले प्यालेस्टिनी समर्थनका लागि गरिएको बताएका छन्।
महदी अल-मशातले भनेका छन्, “हाम्रो संघर्ष तबसम्म जारी रहन्छ जबसम्म आक्रमण रोकिन्न र नाकाबन्दी हटाइँदैन।”


