लिपुलेक विवादमा चीनको तटस्थता, राष्ट्रपति सीले ओलीलाई दिए प्रष्ट जवाफ

-

काठमाडौँ,१४ भदौ । लिपुलेकलाई लिएर नेपाल र भारतबीच चलिरहेको विवादमा चीनले स्पष्ट रुपमा तटस्थता अपनाउने संकेत दिएको छ। शनिबार चीनको तिन्जियान प्रान्तमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा यसबारे खुलेर कुरा उठेको हो।

वार्ताका क्रममा प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फ पर्ने सबै भूभाग नेपालकै भएको प्रष्ट पार्दै चीनको सहयोग मागेका थिए। ओलीले भने, “यो हाम्रो सार्वभौम भूभाग हो, यसबारे चीनले हाम्रो पक्ष बुझ्नेछ भन्ने दृढ विश्वास छ।”

तर चिनियाँ राष्ट्रपति सीले यस विषयमा स्पष्ट जवाफ दिए। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, सीले दुई कुरा उल्लेख गरे। पहिलो, लिपुलेक विवाद नेपाल र भारतबीचको आन्तरिक विषय भएको भन्दै चीन यसमा पक्ष बन्ने पक्षमा नभएको बताए। दोस्रो, भारतसँग भएको सम्झौता नेपालको दाबीविरुद्ध नभएको प्रष्ट पारे।

“परम्परागत रूपमा यो नाका प्रयोग हुँदै आएको हो। तर तपाईंहरूको सीमा विवादमा हामी पक्ष बन्न चाहँदैनौँ। यो तपाईंहरूले दुई पक्षले समाधान गर्ने विषय हो,” सीको भनाइ उद्धृत गर्दै राईले बताए।

लिपुलेक विवाद नयाँ होइन। नेपालले २०७२ सालमा भारतले चीनसँग गरेको लिपुलेक सम्झौताप्रति असहमति जनाएको थियो। नेपालले यो भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ भने भारतले पनि आफ्नै दाबीमा अडान छ। हालै भारतले सो क्षेत्रमा सडक निर्माण गरेको विषयमा पनि नेपालले विरोध जनाएको थियो।

चीनले तटस्थता देखाएपछि अब समाधान नेपाल र भारतबीचको संवादमै खोजिनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य