काठमाडौं,१२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवादमा राष्ट्रिय सहमति जुटाएर भारत र चीनसँग स्पष्ट धारणा राख्ने बताएका छन्।
एमाले काठमाडौंका अगुवा नेताहरूसँग बालुवाटारमा भएको भेटमा ओलीले संसदको विश्वाससहित दुवै देशका शीर्ष नेतासँग ठोस कुरा गर्ने तयारी रहेको जानकारी दिएका हुन्। भेटमा सहभागी एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग लिपुलेक मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटमा उपस्थित नेताहरूले प्रधानमन्त्रीलाई भ्रमणका क्रममा नेपालको भूभाग सम्बन्धी संवेदनशील विषयमा गम्भीर र दृढ धारणा राख्न आग्रह गरेका थिए। ओलीले भने, “१४ गते संसदमा कुरा राख्ने र संसद्को समेत विश्वास लिएर दुवै देशका नेतासँग बलियो कुरा राख्नेछु।”

