आशिष गुरागाई /काठमाडौँ, १० भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सांसद मनीष झाले आज मंगलबार पूर्वराष्ट्रपतिको निजिनिवास बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ भंगालमा भेटे गरेका छन्।
सांसद झाले भेटपछि जानकारी दिँदै भने भेट पाँच विषयमा केन्द्रित भएको थियो। भण्डारीले पहिलो विषयमा नयाँ पुस्ताले गरिरहेको राजनीतिक अभ्यासप्रति उच्च आदर व्यक्त गरेकी छन्। उनले युवा नेतृत्वलाई सम्मान गर्ने र यसलाई सकारात्मक दृष्टिले हेर्ने धारणा राखेकी छिन्।
दोस्रो विषय सहकारी सङ्कटसँग सम्बन्धित थियो। सांसद झाले भनेका अनुसार, भण्डारीले सहकारी समस्याको समाधान आवश्यक रहेको तर यसलाई राजनीतिक दबाब सिर्जना गर्न प्रयोग गर्नु उचित नभएको बताएकी छन्। उनले स्थानीयवासीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सद्भाव राख्दै अन्याय भएको धारणा व्यक्त गरेकी छिन्। भण्डारी र रवि दुवै बुढानीलकण्ठ नगरपालिका निवासी हुन् ।
भण्डारीले भेटमा पार्टीभित्र आफू सक्रिय हुन नदिने प्रयासप्रति असन्तोष प्रकट गरेकी छिन्। उनले एमालेभित्रबाट पूर्ण रूपमा सक्रिय हुन नदिने प्रयास भइरहेको उल्लेख गरेकी छन्।
भेटमा अन्य दुई विषय पनि छलफल भए तापनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर सांसद झाले बताएअनुसार, भेटवार्ताले भण्डारीको भूमिकासम्बन्धी नयाँ सङ्केत दिएको छ।

पूर्वराष्ट्रपति भण्डारी लामो समयदेखि नेपालको राजनीतिमा सक्रिय भूमिका खेल्दै आएकी छन्।

